तत्कालीन सीडीओ रिजालको बयानः ‘सिधै गोली चलाउने आदेश थिएन’

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौंका तत्कालीन प्रमुख (सीडीओ) छविलाल रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश मात्र दिएको बताएका छन् ।
जाँचबुझ आयोगसमक्ष दिएको बयानमा रिजालले अन्तिम बल प्रयोग गर्दै सिधै गोली चलाउने कुनै आदेश आफूले नदिएको स्पष्ट पारेका छन् ।
भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको प्रतिवेदनअनुसार उनले प्रहरीको रेडियो सेटमार्फत तत्कालीन प्रहरी महानिरीक्षक र काठमाडौं उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले ‘आवश्यकता अनुसार अवस्था नियन्त्रणमा लिन फायर खोल्नु’भन्ने आदेश दिएको सुनेको बताएका छन् ।
रिजालका अनुसार आफूले परिस्थितिअनुसार भीड नियन्त्रणका लागि रबरको गोली घुँडाभन्दा तल लक्षित गरी प्रयोग गर्न मौखिक निर्देशन दिएको भए पनि सिधै घातक बल प्रयोग गर्ने निर्णय वा आदेश नदिएको उनले बयानमा उल्लेख गरेका छन् ।
उनले तनावपूर्ण अवस्थाका बीच सुरक्षा निकायका उच्च अधिकारीहरूबाट रेडियो सेटमार्फत आएका निर्देशनहरू पनि आफूले सुनेको र ती निर्देशनहरू परिस्थितिअनुसार अवस्था नियन्त्रणमा लिन केन्द्रित रहेको बताएका छन् ।








