नख्खु कारागारका जेलरको बयानः ‘भीडको डरधम्कीमा रवि लामिछानेलाई छाड्ने पत्रमा हस्ताक्षर गर्न बाध्य भएँ’

काठमाडौं । नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने लाई छाड्ने सम्बन्धी पत्रमा भीडको डरधम्कीका कारण हस्ताक्षर गर्न बाध्य भएको बताएका छन् ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा उनले भदौ २४ गते बिहानैदेखि सामाजिक सञ्जालमा भड्काउने सामग्रीहरू देखिन थालेको र कारागार वरिपरि अनधिकृत निगरानी बढेको उल्लेख गरेका छन् । त्यसपछि प्रमुख जिल्ला अधिकारी, गृह मन्त्रालय, शान्ति सुरक्षा महाशाखा र कारागार व्यवस्थापन विभागलाई जानकारी गराउँदै आकस्मिक सुरक्षा बैठक बोलाइएको उनले बताए ।

जोशीका अनुसार दिउँसो करिब १ः४० बजे हजारौं प्रदर्शनकारीहरूले रवि लामिछानेलाई छोड भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरु गरेका थिए । अवस्था नियन्त्रणबाहिर जाँदै गएपछि उनले सेना परिचालनका लागि लिखित तथा मौखिक अनुरोध गरेको तर तत्काल थप सुरक्षा बल उपलब्ध नभएको उनले बताएका छन् ।

करिब १ः५० बजे भीडले मुख्य गेट तोड्दै कारागारभित्र प्रवेश गरेको र नियन्त्रण लिएको उनले बयानमा उल्लेख गरेका छन् । त्यतिबेला कारागारमा १,२८१ जना कैदीबन्दी रहेको जानकारी पनि उनले दिएका छन् ।

जोशीका अनुसार लामिछानेलाई लक्षित गरी आक्रमण हुन थालेपछि अन्य कैदीहरूको सुरक्षाका लागि उनलाई अस्थायी रूपमा मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालमा सारिएको थियो । त्यसपछि उनले भीडलाई सम्झाउने प्रयास गर्न माइक मागेको र सुरक्षाकर्मीले उनलाई भीड समक्ष पठाएको उनले बताए ।

उनको बयानअनुसार भीडले लामिछानेलाई कारागारबाट बाहिर लगेको थियो । त्यसपछि भीड झन् आक्रोशित बनेको, कारागारका अभिलेख कक्ष र प्रहरी भवनमा आगजनी भएको र सुरक्षाकर्मीहरू पछाडि हट्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

जोशीले आफू र कर्मचारीहरू मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालभित्र लुकेर ज्यान जोगाउने अवस्थामा पुगेको र त्यही क्रममा भीडले अत्यधिक डरधम्की दिई आफूलाई एक अज्ञात पत्रमा हस्ताक्षर गर्न बाध्य पारेको दाबी गरेका छन् । उक्त पत्रको विषयवस्तुबारे आफूलाई कुनै जानकारी नभएको र करकाप तथा आतंकपूर्ण अवस्थामै हस्ताक्षर गरिएको हुँदा त्यसको वैधानिकता नभएको उनको भनाइ छ ।

उनका अनुसार घटनापछि करिब १,२८० कैदीबन्दी बाहिर निस्किएका थिए । तीमध्ये केही दिनपछि ७४९ जना फर्किएको, ७० जनालाई अन्य कारागारमा स्थानान्तरण गरिएको र ४५९ जना अझै फरार रहेको उनले आयोगलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =