बालेनको बयान: जेनजी आन्दोलनमा मेरो संलग्नता छैन, क्षतिको जिम्मा तत्कालीन सरकारले लिनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफू जेनजी आन्दोलनमा संलग्न नरहेको स्पष्ट पारेका छन् ।
जेनजी आन्दोलनसम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष उनले दिएको लिखित बयानमा २३ र २४ भदौको घटनाक्रमका बेला आफू लैनचौरस्थित सरकारी निवासमा रहेको उल्लेख गरेका छन् ।
बालेनका अनुसार २३ गतेको शान्तिपूर्ण र्यालीप्रति मात्र आफ्नो समर्थन रहेको तर आन्दोलनमा आफू सहभागी नभएको उनले प्रस्ट पारेका छन् । आयोगलाई दिएको बयानमा उनले र्याली र आन्दोलनबीच फरक रहेको भन्दै आफ्नो भूमिका केवल समर्थनमा सीमित रहेको बताएका छन् ।
उनले राष्ट्रपति र सेनापतिको आग्रहमा आन्दोलनलाई शान्त पार्ने प्रयासमा आफूले भूमिका खेलेको समेत बयानमा उल्लेख गरेका छन् । साथै, तत्कालीन सरकार र त्यसमा सहभागी राजनीतिक दलहरूले घटनामा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी लिनुपर्ने धारणा राखेका छन् ।
बालेनले आयोगसमक्ष तत्कालीन सरकारलाई लक्षित गर्दै अपराध र आतंकवादी क्रियाकलाप भएको टिप्पणी गर्दै त्यसको जिम्मेवारी पनि सरकारमै पर्ने बताएका छन् ।








