भदौ २४ को घटना योजनाबद्ध भएको हो, हाम्रो टोलीले गोली चलाएको होइन: एसएसपी उप्रेती

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका एसएसपी राजेश उप्रेतीले भदौ २४ गतेको हिंसात्मक घटनालाई योजनाबद्ध ढंगले भएको दाबी गरेका छन् ।

जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा दिएको बयानमा उनले सो कुरा उल्लेख गरेका हुन् ।

भदौ २३ र २४ का घटनाको छानबिनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले फागुन २३ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । जनआस्थाको सौजन्यमा मकालुखबरले प्राप्त गरेको उक्त प्रतिवेदनअनुसार सिंहदरबार सुरक्षार्थ खटिएको उनको टोलीले प्रारम्भिक चरणमा करिब ४–५ हजारको संख्यामा आएका प्रदर्शनकारीलाई सम्झाइबुझाइ रोक्ने प्रयास गरेको थियो । तर समयसँगै भीडको व्यवहार आक्रामक बन्दै गएको र स्थिति नियन्त्रण बाहिर जान थालेको उनले बताएका छन् ।

बयानमा उनले ग्यास सेल प्रयोग गरी भीडलाई नियन्त्रण गर्ने प्रयास गरिएको र पछि स्थिति झन् जटिल बनेपछि टोलीलाई साइड गेटमार्फत भित्र प्रवेश गराइएको उल्लेख गरेका छन् । साथै, भीड नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूमा मानसिक दबाब र अघिल्लो दिनका घटनाका कारण हिचकिचाहट समेत देखिएको उनले जनाएका छन् ।

उप्रेतीले आफ्नो कमाण्डमा रहेको टोलीबाट कुनै पनि घातक हतियार प्रयोग गरी गोली नचलाइएको स्पष्ट पारेका छन् । उनका अनुसार दिउँसो करिब ३ः१० बजेसम्म संयुक्त रूपमा नेपाल प्रहरीसँग मिलेर ग्यास गन र लाठीचार्जको माध्यमबाट प्रदर्शनकारीलाई हटाइएको थियो ।

उनले पश्चिम गेटतर्फ केही व्यक्तिले एसएलआर हतियार तेस्र्याएको उल्लेख गर्दै त्यतिबेला गोली चलाउने वा पछि हट्ने विकल्प रहेको बताएका छन् । ठूलो मानवीय क्षति हुन सक्ने जोखिम देखेर आफूले स्वविवेक प्रयोग गरी गोली नचलाउने निर्णय गरेको उनको भनाइ छ ।

त्यस क्रममा एक महिला प्रहरीलाई भीडले तानेको देखेपछि उद्धार गर्न जाँदा आफूमाथि टाउकोमा ईँट्टा प्रहार भई सामान्य घाइते भएको पनि उनले बयानमा उल्लेख गरेका छन् । केही अन्य सुरक्षाकर्मीहरू पनि सामान्य घाइते भएको तर गम्भीर चोटपटक नभएको उनको भनाइ छ ।

उप्रेतीले आन्दोलनको क्रममा प्रारम्भमा देखिएका जेनजी युवाहरू पछि हट्दै गएको र त्यसपछि सिंहदरबार जलाउने नियतसहित हतियारसहितका व्यक्तिहरू सक्रिय भएको देखिएको दाबी गरेका छन् । यसले घटनामा योजनाबद्ध घुसपैठ भएको हुनसक्ने आशंका आफूलाई लागेको उनले बताएका छन् ।

साथै, उनले भीड नियन्त्रणका लागि आवश्यक उपकरण र तयारी अपर्याप्त रहेको उल्लेख गर्दै बडी क्यामेरा, ड्रोन र वाटर क्याननजस्ता नन–लेथल उपकरणको कमी रहेको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच स्पष्ट समन्वय, संयुक्त अभ्यास र स्पष्ट एसओपी आवश्यक रहेको निष्कर्ष पनि उनले सुनाएका छन् ।

यस्तो छ उप्रेतीको बयानः

म भाद्र २४ गते सिंहदरबारको सुरक्षार्थ खटिएको टोलीको समन्वयकारी भूमिकामा परिचालित थिएँ । प्रधान कार्यालयबाट पशुपतिनाथ बाहिनी मुख्यालयको सम्पर्कमा रही आवश्यक समन्वय गर्ने जिम्मेवारीसहित म बिहान करिब ८ः४५ बजे सिंहदरबार पुथे र मेरो कलसाइन के–७ थियो । सुरक्षा योजनाअनुसार सशस्त्र प्रहरी बल र नेपाल प्रहरी संयुक्त रुपमा परिचालित थियौं । प्रारम्भिक चरणमा करिब ४–५ हजारको संख्यामा भद्रकालीतर्फबाट आएका प्रदर्शनकारीहरुलाई मुख्य प्रवेशद्धार बाहिरै आधा घण्टासम्म सम्झाइबुझाइ गर्दै रोक्ने प्रयास गरियो । तर समयसँगै भीडको मनोविज्ञान एकाएक परिवर्तन भयो, शान्त देखिएको भीड क्रमशः आक्रामक बन्दै हामीमाथि धकेल्दै पर्खालसम्म आइपुग्यो । हामीले ग्याँस सेल प्रयोग गरी भीडलाई पछि हटायौं, तर पुनः भीड अझ उग्र बनेपछि टोलीलाई साइडको सानो ढोकाबाट भित्र प्रवेश गराउने निर्णय गर्नुपर्यो । 

यस क्रममा मैले भीड नियन्त्रण कति जटिल र जोखिमपूर्ण हुन्छ भन्ने गहिरो रुपमा महसुश गरे । अघिल्लो दिनका घटनाका कारण सुरक्षाकर्मीहरुमा केही हिचकिचाहट पनि देखिन्थ्यो र रेडियो सेटबाट अन्य स्थानमा भइरहेको तोडफोड र आगजनीका खबरले मानसिक दबाब थप बढेको थियो । जब भीड कुनै परिणामको परवाह नगरी, आफ्नो ज्यानको समेत वास्ता नगर्ने अवस्थामा पुग्छ, त्यो भीड झनै घातक हुने रहेछ भन्ने अनुभव भयो । भीडभित्र ‘आज सुरक्षाकर्मीले गोली चलाउँदैनन्, अगाडि बढौं’ भन्नेजस्ता उत्तेजक कुरा सुनिन्थें, जसले अवस्था झन् संवेदनशील बनाइरहेको थियो । त्यो दिन मेरो कमाण्डमा रहेको टोलीबाट कुनैपनि लिथल वेपन प्रयोग गरी फायर गरिएको थिएन । करिब दिँउसो ३ः१० बजेसम्म सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ग्याँसगन र लाठीचार्जको प्रयोग गरी प्रदर्शनकारीहरुलाई समेत सोही माध्यमबाट धपाइयो । तर पश्चिम गेटतर्फ केही व्यक्तिहरुले एस.एल.आर हतियार हामीतर्फ तेस्र्याउन थालेपछि अवस्था अत्यन्तै गम्भीर बन्यो । त्यतिबेला हामीसँग दुई विकल्प थिए, हतियारधारीमाथि गोली चलाउने वा पछि हट्ने । गोली चलाउँदा ठूलो मानवीय क्षति हुने सम्भावना देखें र स्वविवेक प्रयोग गर्दै गोली नचलाउने निर्णय गरें । त्यसका लागि कुनै आदेश माग्ने अवस्था पनि रहेन । 

यसै क्रममा म एक जना महिला प्रहरीलाई भीडले तानेको देखेर उनलाई उद्धार गर्न अगाडि बढें र त्यसपछि नजिकैबाट टाउकोमा ईँट्टा प्रहार भई म सामान्य घाइते भएँ । मसँगै रहेका केही सशस्त्र प्रहरी कर्मचारीहरु पनि सामान्य रुपमा घाइते भए, तर कसैलाई गम्भीर चोटपटक लागेको थिएन । नेपाली सेनाको उपस्थिति पनि त्यहाँ थियो र भीडलाई पछाडि हटाउन हवाई फायरसमेत गरिएको थियो, तर सेनाको आन्तरिक ड्युटी र निर्णय प्रक्रियाबारे म प्रत्यक्ष जानकारी राख्दिनँ । आन्दोलनको स्वरुप हेर्दा, शुरुमा देखिएका जियनजेड युवाहरु पछि हराउँदै गए र सिंहदरबार जलाउने नियत राखेका, हतियार कक गरेर व्यक्तिहरु अगाडि आए । त्यसैले यो आन्दोलनमा योजनाबद्ध घुसपैठ भएकोजस्तो मलाई लाग्छ । जियनजेड युवाहरु आफैं पनि ‘सिंहदरबारभित्र प्रवेश गर्नुहुँदैन’ भनिरहेका थिए, तर पछि देखिएको हिंस्रक गतिविधि पूर्वयोजनाबिना भएको जस्तो लाग्दैन । 

समग्र घटनाक्रमले मलाई हाम्रो क्राउड कन्ट्रोल क्षमता, उपकरण र तयारी अझै अपर्याप्त रहेको अनुभूति गरायो । बडी क्यामेरा, ड्रोन, वाटर क्यानोनजस्ता नन–लेथल उपकरणको कमी महसुश भयो र कमाण्ड तथा कन्ट्रोल प्रणाली अझ सुदृढ हुनुपर्ने देखियो । दुवै प्रहरी संगठनबीच नियमित संयुक्त अभ्यास, सिमुलेशन ट्रेनिङ र स्पष्ट अपरेशनल एसओपी आवश्यक छ भन्ने निष्कर्षमा पुगें । साथै, कुन अवस्थामा नेपाल प्रहरी र कुन अवस्थामा सशस्त्र प्रहरी बल परिचालन हुने भन्ने स्पष्ट कानूनी र संस्थागत सीमा निर्धारण नभएसम्म ‘सबैको जिम्मेवारी, कसैको जिम्मेवारी होइन’ भन्ने अवस्था दोहोरिन सक्छ भन्ने मेरो बुझाइ छ । 

भविष्यमा यस्ता घटना दोहोरिन नदिन, मैले यसलाई केबल व्यक्तिको कमजोरीको रुपमा होइन, प्रणालीगत सुधारको आवश्यकता भएको विषयका रुपमा हेर्नुपर्छ भन्ने ठानेको छु । अर्ली वार्निङ सिस्टम, युनिफाइड एसओपी, सामाजिक सञ्जालबाट फैलिने अफवाह नियन्त्रण गर्ने संयन्त्र, सुरक्षा निकायबीच क्राइसिस को–अर्डिनेशन, युवासँग संवाद र कम्युनिटी पोलिसिङजस्ता उपायहरु अपरिहार्य देख्छु । जाँचबुझ आयोगले पनि घटनालाई निष्पक्ष रुपमा मूल्याङ्कन गरी आदेश–श्रृंखला, निर्णय प्रक्रिया र दुवै पक्षबाट सम्भावित मानव अधिकार उल्लंघनको समीक्षा गर्दै कार्यान्वयन योग्य सिफारिस गर्ने हो भने मात्र यस्ता दुःखद् घटना भविष्यमा रोक्न सकिन्छ भन्ने मेरो धारणा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =