वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री खाने सोच छैन : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने भनी चलेका हल्लाहरूको कडा रूपमा खण्डन गरेका छन् । पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनको मन्त्री बन्ने चर्चा चुलिएपछि घिसिङले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण दिएका हुन् ।
उनले नेपालको संविधानले गैर-सांसदलाई मन्त्री बन्न रोक लगाएको यथार्थलाई स्मरण गराएका छन् । जनमतको कदर गर्दै, जनताको म्यान्डेट विपरीत अन्य कुनै चोर बाटो वा विकल्प खोजेर सांसद तथा मन्त्री बन्ने कुरा आफूले कल्पना समेत नगरेको उनले प्रस्ट पारेका छन् ।
सत्ता समीकरण र सरकारमा सहभागिताको विषयलाई लिएर अहिलेसम्म कुनै पनि राजनीतिक दल वा पक्षसँग आफ्नो संवाद नभएको अध्यक्ष घिसिङको भनाइ छ । हालै सम्पन्न निर्वाचनको मत परिणामलाई सहर्ष स्वीकार गर्दै त्यसबाट आवश्यक सिकाइका साथ अघि बढ्ने उनले बताएका छन् । यतिखेर आफ्नो सम्पूर्ण ध्यान ‘उज्यालो नेपाल पार्टी’को साङ्गठनिक सुदृढीकरण र विस्तारमा केन्द्रित रहेको उनले खुलाएका छन् ।
सुशासन र समृद्धिको जगमा उभिएको उज्यालो नेपाल निर्माण गर्ने आफ्नो मूल अभियान निरन्तर जारी रहने प्रतिबद्धता उनले दोहोर्याएका छन् । साथै, आफू र आफ्नो पार्टीविरुद्ध सुनियोजित रूपमा छरिएका भ्रामक तथा गलत प्रचारबाजीको पछि नलाग्न पनि उनले आम नागरिक तथा शुभचिन्तकहरूलाई आग्रह गरेका छन् ।









