रक्षा बमको स्पष्टीकरण: ‘म प्रश्नभन्दा माथि छैन’

काठमाडौं । जेनजी आन्दोलनकी अगुवा रक्षा बमले आफू प्रश्नभन्दा माथि नरहेको बताएकी छन् । हालै माइतीघरमा आफूमाथि उठाइएका आरोपबारे स्पष्टिकरण दिँदै उनले आन्दोलनका मुद्दा बोकेरै अघि बढिरहेको दाबी गरेकी छन् ।

केही दिनअघि माइतीघरमा आफ्नै उमेर समूहका, विशेषगरी आन्दोलनका घाइते सहभागीहरूले उनीमाथि चर्को रूपमा प्रश्न उठाएको भिडियो सार्वजनिक भएको थियो । सो घटनापछि प्रतिक्रिया दिँदै बमले धेरै आरोप निराधार रहेको दाबी गरिन् । यद्यपि, “सरकारसँग पहुँच हुँदाहुँदै पनि किन सडकमा ?” भन्ने प्रश्न भने स्वाभाविक रहेको उनले स्वीकार गरिन् ।

उनका अनुसार आन्दोलनलाई संस्थागत गर्न, चुनाव सुनिश्चित गर्न र निकास खोज्ने सन्दर्भमा प्रधानमन्त्री तथा गृहमन्त्रीसँग भेटघाट भएको थियो । तर ती भेटहरूमा आफूले कहिल्यै व्यक्तिगत स्वार्थ नराखेको र सधैं प्रश्न तथा प्रतिवेदन सार्वजनिक गर्न आग्रह मात्र गरेको उनको भनाइ छ । “संवाद र भेटबाट पनि राज्य गम्भीर नदेखिएपछि सडक नै अन्तिम विकल्प बन्यो,” उनले उल्लेख गरेकी छन् ।

बमले आफू चुनावको पक्षमा उभिँदा केही साथीहरूसँग दूरी देखिएको स्वीकार गर्दै आन्दोलनका घाइतेहरूको आक्रोश स्वाभाविक र न्यायोचित भएको बताइन् । उनले राज्यले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगर्नु र न्याय सुनिश्चित नगर्नु असक्षमता भएको टिप्पणी गरिन् ।

पीडितहरूका लागि क्षतिपूर्ति, सेवा–सुविधा र न्यायको मागमा आफू सधैं साथमा रहने प्रतिबद्धता जनाउँदै उनले लोकतन्त्रविरुद्ध उभिने धारमा भने आफू सहमत हुन नसक्ने स्पष्ट पारिन् ।

साथै, धम्की र दबाबले आफू विचलित नहुने उल्लेख गर्दै उनले भ्रामक सूचना, व्यक्तिगत लाञ्छना र चरित्रहत्या जस्ता गतिविधिले आन्दोलनलाई नै कमजोर बनाउने चेतावनी दिइन् ।

उनले समर्थन र आलोचना दुवैलाई सकारात्मक रूपमा लिँदै आफू अझ जिम्मेवार बनेको बताइन् । “म प्रश्नभन्दा माथि छैन, तर प्रश्न सोध्ने तरिकामाथि भने आलोचनात्मक रहन्छु,” उनले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =