महामन्त्री पौडेलको प्रश्न : कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारसँग गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भइसकेको अवस्था मासमेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशङ्का जन्माएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशङ्का र उपशङ्का जन्माएको छ ।’
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन भन्दै उनले यसले यक्ष प्रश्न खडा भएको बताए । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ?,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’










