प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।

सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाई दिए ।

उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ । यो सामान्य कुरा होइन । यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’

उनले अगाडि थपे, ‘यहाँको चट्टानी अडान र दृढताकै कारण मुलुकले निकास पायो। विगतका कुनै पनि निर्वाचनभन्दा शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय निर्वाचन सम्भव भएको छ। सानो टिम र छोटो समयमा विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ । यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ। तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ । हामी पनि सम्झिइरहनेछौँ । आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ । तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ ।’

प्रधानमन्त्री कार्कीले रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाई दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिइन् । ‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन् । तपाईँहरुले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ । चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ उनले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ । विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।’

भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल पनि भएको थियो । सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे । ‘सरकार भनेको सरकार नै हो । अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ । त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ ।’

उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए । पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै उनले यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =