ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका सम्पदाहरुलाई समेटेर तयार पारिएको ‘ठमेलका सम्पदाहरु’ पुस्तक विमोचन गरिएको छ ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाको सक्रियतामा नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा प्रकाशित उक्त पुस्तक आज विमोचन गरिएको हो । ठमेलभित्रका एक दर्जनभन्दा बढी सम्पदालाई समावेश गरिएको उक्त पुस्तकमा सम्पदाको खोज अनुसन्धानकर्ता प्रकृति अधिकारीले गरेका छन् ।
पुस्तकमा ठमेलभित्रका ठमेलेश्वर मन्दिर, मैत्रीपुर महाविहार, नाट्टेश्वर, त्रिदेवी मन्दिर, अशोक चैत्य, भगवान बहाललगायतका सम्पदाको बारेमा वर्णन गरिएको छ भने भगवती मन्दिर, भीमसेनपाटी, गाःहिटी, गुणाकर महाविहार, करुणापुर महाविहार, तःहिटी चैत्य र श्री गाहा चैत्यबारे पनि खोज अनुसन्धान गरिएको छ ।
ठमेल व्यापारिक केन्द्र मात्र नभई नेपालको जीवित सांस्कृतिक सम्पदाको क्षेत्र पनि भएको र यहाँ प्राचीन परम्परा, नेवार संस्कृति, बौद्ध तथा हिन्दू आस्थाको समिश्रण पाइने तथा ठमेलका गल्लीमा पाइने हस्तकला, परम्परागत वास्तुकला, स्थानीय परिकार, साङ्गीतिक वातावरण र उत्सवको विविधता यस क्षेत्रको सांस्कृतिक गहिराइको प्रमाण भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । ठमेल आउने पर्यटकले घुमघाम मात्र नगरी यहाँको जीवनशैली र सम्पदासँग प्रत्यक्ष अन्तक्र्रिया समेत गर्ने गरेका छन् ।
पुस्तक विमोचन समारोहमा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष धमलाले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई ठमेल क्षेत्रभित्रका सम्पदाको बारेमा जानकारी दिन पुस्तक प्रकाशन गरिएको बताए भने कार्यक्रममा नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष डा प्रेमराज न्यौपानेले ठमेलको सांस्कृतिक सम्पदालाई विश्वमाझ चिनाउन यस्ता पुस्तकबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, काठमाडौँ महानगरपालिका–२६ का पूर्व वडाअध्यक्ष विश्वम्भरलाल प्रधानलगायतले ठमेल क्षेत्रमा लुकेका सम्पदालाई बाहिर ल्याएर राम्रो कामको थालनी भएको बताए ।








