यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक

कैलाली । कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रालिले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ ।
सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज यहाँ एक कार्यक्रमको आयोजना गरी प्रालिले गाडी नम्बरसहितको चालक, सहचालक तथा परिचालकलाई परिचयपत्र र जर्सी वितरण गरेको हो ।
चालक, सहचालक र परिचालकको एउटै पहिचान झल्किने पोसाक उपलब्ध गराइएको सम्पूर्ण यातायात प्रालिले जनाएको छ । यसबाट यात्रुले टाढैबाट चालक तथा सहचालकलाई सहजै चिन्नसक्ने, सही सवारीसाधन पहिचान गर्नसक्ने र यात्रु सेवामा थप सहजता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको उल्लेख गरे । यो व्यवस्थाले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय विचौलियाको चलखेल नियन्त्रणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गरे । उनले भने “पोसाकले चालक तथा सहचालकको जिम्मेवारी बोध बढाउनुका साथै आफ्नो पेसालाई सम्मानित र आकर्षक बनाउन मद्दत गर्नेछ ।”
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने अग्रपङ्क्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले यो व्यवस्थापछि सडकमा यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रु अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा पनि कमी आउने विश्वास व्यक्त गरे । पोसाकले चालक तथा सहचालकको पहिचान स्पष्ट बनाउने भएकाले यात्रुको विश्वास बढ्ने र यातायात सेवा थप मर्यादित बन्ने उनको भनाइ छ ।
कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकहरूको उपस्थिति थियो ।








