गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न गरिएको सिफारिस ‘होल्ड’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सरकारले गरेको सिफारिस ‘होल्ड’ गरेका छन् ।

गत चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभामा रिक्त एक पदमा अर्यालको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सरकार प्रवक्ताको हैसियतमा अर्याल स्वयंले सार्वजनिक गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक–तिहाइ सदस्यको पद रिक्त हुने गर्छ । तीमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान छ । यसअघि वामदेव गौतमले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

सरकारले गरेको सिफारिस राष्ट्रपतिले तत्काल स्वीकृत नगरी ‘होल्ड’मा राखेको राष्ट्रपतिनिकट स्रोतले जनाएको छ । स्रोतका अनुसार मुलुकमा नयाँ राजनीतिक म्यान्डेटसहित सरकार गठन हुने तयारी भइरहेकाले नयाँ सरकारले सिफारिस गर्नु उपयुक्त हुने संकेत राष्ट्रपतिले दिएका छन् ।

यसबीच, गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता मनिषकुमार श्रेष्ठसहितले दायर गरेको रिटमा उक्त सिफारिस बदर गर्न माग गरिएको छ । रिटमाथि सुनुवाइ चैत २५ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =