बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो ।

आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन् । बालविवाह गरेर छोरीहरूले भोगेका पीडा उनले प्रत्यक्ष देखेकी थिइन् ।

त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उनलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए । यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहिन्, ‘पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।’ धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिइन् । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् ।

उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित भएकी हुन् । निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै भनिन्, ‘मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनुछ ।’ उनका अनुसार मधेसमा अधिकांश छोरीहरूको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरू रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन् । रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा हुनुहुन्छ । अब पहिलो काम उहाँ बुबालाई घर फर्काउन चाहन्छन् । ‘स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र ?’, उनले भनिन्, ‘स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरूलाई स्वदेशमै फर्काउन चाहन्छु ।’ कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ ।

संसद्मा सप्तरङ्गी उपस्थिति

समानुपातिक तर्फ प्रमाणपत्र लिन आउनेमा मधेश प्रदेशकी इञ्जिनियरिङ अध्ययनरत विद्यार्थी रुबीसँगै, पूर्व मिस नेपाल अनुष्का श्रेष्ठदेखि नायिका रिमा विश्वकर्मा समेतको उपस्थिति थियो । समाजको पिँधमा परेका मुस्लिम समुदायका महिलाका अनुहार पनि सांसदका रूपमा देखिएका छन् ।

टाउकोमा रुमाल बेरेर काखीमा बच्चा च्यापेर समानुपातिक प्रतिनिधि सदस्यको प्रमाणपत्र बुझ्न आएकी चितवनकी समिना मियाँले भनिन्, ‘मुस्लिम महिला लजालु स्वभावका छन्, उनीहरूलाई समाजको मूल प्रवाहमा ल्याउन शिक्षा र स्वास्थ्यमा जोड दिनु आवश्यक ठानेकी छु ।’

भरतपुर महानगरपालिका–१ की मियाँ रास्वपाको संस्थापक सदस्य हुन् । नर्सिङ पेसामा आबद्ध उहाँले रूपान्तरणका लागि राजनीतिक चेत आवश्यक भएकाले आफूले परिवार, पेसासँगै संसद्मा पुग्न जरुरी ठानेको बताइन् ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक प्रतिनिधि सदस्य भएकी दाङ, घोराहीकी ५० वर्षीया भीमकुमारी बुढामगर जनयुद्धकालदेखि राजनीतिक रूपमा सक्रिय थिइन् । उनी पहिलो पटक सांसद भएकी हुन् । मगर पहिरनमा सजिएर प्रमाणपत्र बुझ्दै गर्दा उनले गणतन्त्र ल्याउनुमा जसरी आफूले योगदान दिएको हो त्यही ऊर्जा र उत्साह अझै कायम रहेको बताइन् । उनले भनिन्, ‘युवाको बाहुल्यता छ, विश्वास छ राम्रै काम गर्छन् ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य हुनुभएकी पद्माकुमारी अर्यालले संसद्मा आफूले जनता र राष्ट्रयका पक्षमा हुने सरकारको कार्यको समर्थन गर्दै विपरीत कार्यको विरोध गर्ने बताइन् ।

रास्वपाका समानुपातिक प्रतिनिधि सदस्य प्रकाशचन्द्र दर्जीले रास्वपाले घोषणा पत्रमा दलित समुदायमाथि राज्यले गरेको अन्यायको माफी माग्ने वाचा पूरा गर्ने बताए।

लामो समयदेखि दलित मुद्दाका विषयलाई लिएर आन्दोलन गरिरहनुभएका नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद बनेका गणेश विश्वकर्माले संविधानमा उल्लेखित दलित अधिकारका कानुन निर्माणमा आफ्नो निरन्तर प्रयास हुने बताए ।

रास्वपाका तर्फबाट समानुपातिक सांसद बनेएकी सीता वादीले संसद्मा वादी समुदायको प्रतिनिधित्व गर्दै छन् । ‘वादी समुदायको बास छैन, गाँस पनि छैन’, उनले भनिन्, ‘संसद्मा वादीको आवाज सुनाउँछु जस्ताको तस्तै र उनीहरूको जीवनस्तर उकास्ने प्रयास गर्नेछु ।’

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र वितरण गरिएको हो ।

निर्वाचन आयोगले केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =