राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा

काठमाडौँ । संयुक्त राष्ट्र संघले नेपालको प्रस्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ ।
मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले यस सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । नेपालको पहल र प्रस्तावमा संयुक्त राष्ट्र संघले कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको यो पहिलो पटक हो । यसलाई नेपालको कूटनीतिक क्षेत्रमा एक ऐतिहासिक र गर्व गर्न लायक सफलता मानिएको छ ।
नेपालले राखेको उक्त प्रस्तावलाई छिमेकी राष्ट्रहरू भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुक गरी जम्मा ४० वटा देशले सहप्रायोजन गरेका परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताए ।
यस घोषणाले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको मन्त्रालयले जनाएको छ । विश्व शान्ति र मानव हितका लागि नेपालले खेल्दै आएको भूमिकालाई यसले नयाँ उचाइमा पुर्याउनुका साथै नेपालको छविलाई विश्वभर थप उजिल्याउन मद्दत पुग्ने विश्वास लिइएको छ । यससँगै नेपाललाई विश्वव्यापी ‘आरोग्यता केन्द्र’ ९वेलनेस सेन्टर० का रूपमा विकास गर्ने बाटो खुलेको उनले बताए ।
नेपालको आफ्नै पहलमा पारित भएको यस प्रस्तावले नेपालको ‘सौम्य शक्ति’ ९सफ्ट पावर० प्रवर्द्धन गर्न ठुलो मद्दत पुग्ने सरकारको विश्वास छ ।
उनले भने ‘नेपालको पहल र प्रस्तावमा संयुक्त राष्ट्र संघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्यता दिवस इन्टरनेसनल वेलनेस डे घोषणा गरेको छ । अब प्रत्येक वर्ष अप्रिल १५ का दिन संसारभर आरोग्यता दिवस मनाइने छ । यस सम्बन्धी प्रस्ताव हिजो अर्थात् १० मार्च २०२६ मा संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको छ । नेपालले ल्याएको उक्त प्रस्तावलाई ४० वटा देशले सहप्रायोजन अर्थात् को स्पोन्सर गरेका थिए । छिमेकी मित्र राष्ट्र भारत र चीन लगायत दक्षिण एशियाका प्राय सबै मुलुकहरूले उक्त प्रस्तावको सहप्रायोजन अर्थात् को स्पोन्सर गरेका थिए । अन्तर्राष्ट्रिय आरोग्यता दिवसका पक्षमा अभूतपूर्व र विश्वव्यापी साथ र समर्थन प्राप्त भएको छ । नेपालको पहल र प्रस्तावमा कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो पहिलो पटक हो । यस अर्थमा यो घोषणा ऐतिहासिक र नेपालले गर्व गर्न लायक विषय पनि हो । नेपालको पहल र प्रस्तावमा घोषणा भएको इन्टरनेसनल वेलनेस डेको डेले विश्व मञ्चमा नेपालको उपस्थितिलाई थप सार्थक र गरिमामय बनाएको छ । विश्व शान्ति र मानव हितका लागि नेपालले खेल्दै आएको सक्रिय र रचनात्मक भूमिकामा यस घोषणाले नयाँ उचाइ थपेको छ । यसबाट नेपालको छवि थप उजिल्याउन मद्दत गरेको छ । साथै हाम्रो गर्विलो परम्परा, महान् सभ्यता र गहिरो चिन्तनलाई विश्वव्यापी बनाउन र यसबाट सम्पूर्ण मानव समुदायको हितमा योगदान पुर्याउन सहयोग गरेको छ । यसबाट नेपाललाई आरोग्यताको केन्द्र वेलनेस सेन्टरको रूपमा विकास गरी वेलनेस टुरिज्म मार्फत नेपालको अर्थतन्त्रमा गुणात्मक योगदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस अर्थमा इन्टरनेसनल वेलनेस डेको घोषणाले नेपालको सौम्य शक्ति अर्थात् सफ्ट पावर प्रमोट गर्न र पर्यटनमार्फत आर्थिक कूटनीति प्रवर्द्धन गर्न मद्दत पुग्ने देखिन्छ । यस रिजोलुसनले आरोग्यता वेलनेसलाई एउटा गतिशील डाइनामिक र समग्र होलिस्टिक अवधारणाका रूपमा लिएको छ । यसले भौतिक, मानसिक, भावनात्मक, सामाजिक, सांस्कृतिक र वातावरणीय इकोलोजिकल हितलाई समग्र आरोग्यताको रूपमा स्थापित गरेको छ ।’
यस ऐतिहासिक घोषणासँगै नेपालले ‘वेलनेस टुरिज्म’ (आरोग्यता पर्यटन) मार्फत आर्थिक कूटनीतिलाई अगाडि बढाउने लक्ष्य राखेको छ । समग्र आरोग्यताको अवधारणाले दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न, नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न, गरिबी निवारण गर्न र समावेशी आर्थिक वृद्धि हासिल गर्न गुणात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालको गर्विलो परम्परा, महान् सभ्यता र गहिरो चिन्तनलाई विश्वव्यापीकरण गर्दै अब विदेशी पर्यटकहरूलाई योग, ध्यान र प्राकृतिक चिकित्साका लागि नेपाल आकर्षित गर्न थप सहज हुनेछ ।








