निर्वाचन परिणाम अप्रत्याशित: कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन् ।
बुधवार पार्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताएका हुन् ।
काँग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उनले बताए । उनले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गरे ।
निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उनको भनाई छ । उनले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताए ।
उनले भने ‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरूको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेस केन्द्रित दलहरू सबै पुराना दलहरूको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ । तथापि अहिले निर्वाचित भएर आउने राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरू हुनुहुन्छ, उहाँहरूले देशको हितमा, जनताको हितमा कति राम्रो कामहरू गर्नुहुन्छ । त्यसमा धेरै कुरा भर पर्छ नि अब ।’
उनले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफूहरूको भूमिकामा पनि परिवर्तन आएको बताए । उनले नयाँ परिवेशमा राष्ट्रिय सभाले निर्वाह गर्ने भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरे ।








