न्यायाधीशहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन्: न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मङ्गलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् ।
न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको बताइन् । उनले न्याय सम्पादन कुनै पनि खालको डर, धम्कीबाट सम्पादन हुनै नसक्ने समेत स्पष्ट पारिन् ।
न्यायाधीश मल्लले मुलुकमा सुशासन र समावेशितालाई सुनिश्चित गर्न पनि कुनै पनि डर र धम्कीको प्रभावमा नपरी न्याय सम्पादन गर्न आवश्यक रहेको बताइन् ।
उनले भनिन् ‘न्यायको खोजी गर्न आउने हरेक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गरौँ । न्यायको खोजी गर्न आउनेहरूको जुत्तामा आफ्नो खुट्टा राखेर अन्यायको अनुभूति गरौँ । र त्यसपछि न्यायको मर्मलाई बुझेर न्याय सम्पादन गरौँ । कानुन जबसम्म मानिसको जीवनसँग जोडिँदैन, त्यो केबल कागजको खोष्टनै हुन्छ ।आज न्यायाधीशहरू केवल कुर्सीमा बसेर फैसला सुनाउने मात्रै होइन, उनीहरू त नेतृत्वको मसाल बोकेर सुधारको बाटोमा पनि हिँडिराखेका छन् । यो पनि हामी सन्देश दिन चाहन्छौँ । नयाँ पुस्ताका कानुन व्यवसायीका लागि पनि कतिपय न्यायाधीशहरू प्रेरणा बनेका होलान् । पीडितको आवाजको न्यायको मूलधारमा ल्याएर न्यायिक नेतृत्वले अहिलेको नेतृत्वले पनि हाम्रो प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चीकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउन खोज्नु भएको छ । अव हामी माथि दायित्व आएको छ कि–न्यायको ज्योतिलाई हरेक घरको दैलोसम्म पुर्याउने जिम्मेवारी हामीसँग आएको छ । यही बीचमा धेरै परिवर्तन भइराखेका छन् । हामी परिवर्तनको संघारमा छौ । यो संघारमा अहिले नयाँ जोस के छ भन्दाखेरि सुशासनको खोजी । समावेशिताका सुनिश्चितता आजको आवाज । यस सिलसिलामा म के भन्न चाहन्छु भने–कुनै पनि डर, कुनै पनि धम्कीबाट न्याय सम्पादन हुन सक्दैन । न्याय सम्पादन कसैले डराएर, कसैले धम्क्याएर, कसैले थर्काएर हुन सक्दैन । हामीले हामीलाई विश्वास गरौँ । सुशासन हाम्रो आत्मा हो । कुनै पनि भिडबाट, कुनै पनि धम्कीबाट हामी डराएर न्याय दिन सक्दैनौ । देशमा सुशासन स्थापना गर्न निष्पक्ष, स्वच्छ, र निडर भएर सँगसँगै अगाडि बढौँ । अनि मात्रै लोकतन्त्रको स्थापना हुन्छ। सुशासनको सुनिश्चितता हुन्छ ।’
न्यायाधीश मल्लले न्यायको खोजी गर्न आउने हरेकलाई सम्मानपूर्वक व्यवहार गर्न पनि सम्बन्धित सबै पक्षलाई सचेत गराइन् ।








