महिलाद्वारा सञ्चालित मिडिया वर्गीकरणलाई प्राथमिकता दिइयोस्: अध्यक्ष शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले महिला पत्रकारहरूले सञ्चालन गरेका मिडियाहरूलाई वर्गीकरणमा प्राथमिकता दिन प्रेस काउन्सिल नेपालसँग आग्रह गरेकी छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेकी हुन् ।

अध्यक्ष शर्माले नीति निर्माणको तहमा लैँगिकमैत्री दृष्टिकोण राख्नेहरू भए मात्रै महिला पत्रकारमैत्री वातावरण बन्न सक्ने अवस्था रहेको समेत बताइन् ।

उनले महिला पत्रकारहरू सुरक्षित इकोसिष्टका लागि उनीहरूको घरबाटै अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता समेत औँल्याइन् । महिला पत्रकारहरूलाई काम गर्ने वातावरण बनाउने काममा उनीहरूको घरले विशेष भूमिका खेल्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो । नेपालको पत्रकारितामा डिजिटल प्लेटफर्मको विकास भएको उल्लेख गर्दै उनले सञ्चारकर्मीहरूलाई सोहीअनुसार तालिमको व्यवस्था गर्ने काममा पनि विशेष जोड दिनुपर्ने बताइन् ।

अध्यक्ष शर्माले भनिन् ‘स्वरोजगारीमूलक मिडिया चलाउने महिलाहरूका लागि मैले यो पत्रपत्रिका वर्गीकरणमा महिलाले चलाउने मिडियामा केही इन्सेन्टिभ दिन सकियो भने गरौँ है भनेर सुझाव दिइरहेको हुन्छ । तर सधैभरी हामी ती कमिटीमा त हुँदैनौ । तर जेन्डरमैत्री ढंगले हेर्नेहरू पोलिसी मेकिङमा भयो भने त्यो काम हुँदो रहेछ । महिलाहरू र पुरुषहरुको् पनि निर्मला शर्मालाई पत्रकार महासंघमा ल्याउन योगदान रह्यो । घरबाटै महिला पत्रकारहरूलाई इन्करेज गर्नु पर्यो ।’
त्यस अवसरमा अध्यक्ष शर्माले नेपालमा पुरुष भन्दा पनि महिला पत्रकारहरू क्षमतावान् भएको दाबी समेत गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =