अब राष्ट्रिय सभाको भूमिका बढ्यो: सांसदहरू

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूले मुलुकमा विकसित पछिल्लो परिस्थितिमा राष्ट्रिय सभाको भूमिका बढ्दै गएको बताएका छन् ।

सोमवार २० फागुनमा कार्यकाल सकिएका सांसदहरूको बिदाईका लागि राखिएको समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।

बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले ऐन र कानुन निर्माणको क्षेत्रमा संसद्को माथिल्लो सदनको भूमिका बढेको बताइन् । उनले अगामी दिनमा सभालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर हुन जरुरी रहेको पनि बताइन् । संविधान संशोधन जस्ता महत्त्वपूर्ण मुद्दाहरू र नयाँ ऐन, कानुन बनाउनुपर्ने मुद्दाहरूमा सभाको स्ट्याण्ड के हुने भन्ने विषयमा गृहकार्यमा जुट्न जरुरी रहेको पनि बताइन् ।

उनले भनिन् ‘अहिले बदलिएको परिस्थितिमा यो सभाको भूमिका अझै बढेर गएको छ । अब हामीले अगामी दिनमा कसरी आफूलाई प्रस्तुत गर्छौँ । यद्यपि कानुन निर्माणको दृष्टिले हाम्रो हाउसलाई त्यति धेरै अधिकार दिएको छैन । तरपनि संविधान संशोधन जस्ता महत्त्वपूर्ण मुद्धाहरु र नयाँ ऐन कानुन बनाउनुपर्ने मुद्दाहरूमा हामीले गम्भीरतापूर्वक यो विषयलाई लिनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद पदमकुमार परियारले सभाअन्तर्गतको यस समितिले कार्यसम्पादनको गति बढाउन जरुरी रहेको बताए । उनले कानुन निर्माणदेखि अन्य निर्णयको सवालमा समितिले प्रभावकारी काम गर्नुपर्ने बताए । समितिको हालकै कार्यसम्पादन शैलीले प्रभावकारी काम गर्न नसकिने उनको भनाइ छ ।

उनले भने ‘अगामी दिनमा हामीले सिक्नुपर्ने कुरा के छ भने अगामी दिनमा हामीले समितिको यही गतिको काम पर्याप्त हुँदैन । यसको गति अलिकति बढाउनुपर्ने हो कि रु त्यतातिर हामी सबैले सोच्नुपर्नेछ ।’

नेकपा (एमाले) की सांसद सुमित्रा बी.सी.ले पछिल्लो निर्वाचन परिणामलाई कुनैपनि दलले असहज रूपमा लिन नहुने बताइन् । उनले मुलुकमा प्रत्येक दश वर्षमा कुनै न कुनै राजनीतिक दलले बहुमत ल्याउँदै आएको उल्लेख गर्दै सभाको प्रभावकारिता बढाउन सबैले मेहनत गर्न जरुरी रहेको बताइन् ।

उनले भने ‘हाम्रो देशमा प्रत्येक १० वर्षमा एउटा एउटा लहर आउने रहेछ । २०४८ तिर नेपाली काँग्रेसको बाहुल्यता थियो । २०५४ सालमा स्थानीय तहको निर्वाचन हुने बेलामा नेकपा (एमाले) को लहर आयो । २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) को आयो । र अहिले पनि परिवर्तको पक्षमा लहर आएको छ । यो बीचमा भएका घटनाहरूका पक्षमा म धेरै व्याख्या गर्दिनँ । जे होस् गत २३ र २४ भदौको आन्दोलनको जगमा टेकेर सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भयो । यो चुनावी नतिजालाई हामीले अन्यथा लिएका छैनौँ । पञ्चायत समेत भोगेको भएर हामीलाई यो नतिजा पचाउन सजिलो भएको छ ।’

समिति सभापति मायाप्रसाद शर्मासहितका राष्ट्रिय सभा कार्यकाल सकिएका सदस्यहरूको बिदाइ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =