हाम्रो कूटनीति ‘विकास कूटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैन: रवि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उनले रास्वपाको कूटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कूटनीति) मा केन्द्रित हुने प्रस्ट पारेका हुन् ।

चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहने बताए ।

लामिछानेले देशको निजी क्षेत्र र उद्योगी व्यवसायीहरूलाई अब राजनीतिक दल र नेताहरूको चाकडी गर्नुपर्ने दिनको अन्त्य भएको दाबी गरे । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन रास्वपाले विशेष नीति ल्याउने र त्यसले लगानीकर्ताको पूर्ण रक्षा गर्ने उनले दाबी गरे ।

उनले भने ‘म अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्क हुन अनुरोध गर्न चाहन्छु कि रास्वपाले नेतृत्व गर्दा हामी सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहनेछौँ । सँगै विकासमा सहकार्य गरेर हाम्रो सम्बन्धको उचाइ नयाँ ठाउँमा पुग्नेछ । म निजी क्षेत्रलाई अनुरोध गर्न चाहन्छु कि अब तपाईँले राजनीतिक दल र नेताको आश्रय लिनुपर्ने दिन गए। रास्वपाको नीतिले तपाईँको रक्षा र सुरक्षा गर्नेछ । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन र लगानी सुनिश्चित गर्नका निमित्त रास्वपाले निरन्तर काम गर्नेछ ।’

विभिन्न पेसा व्यवसायमा आबद्ध नागरिकहरूलाई नआत्तिन आग्रह गर्दै उनले पार्टीको वाचा पत्रअनुसार नै जनताको हक हितको रक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =