निर्वाचन ऐतिहासिक र भयरहित हुने राष्ट्रिय पर्यवेक्षकहरूको निष्कर्ष

काठमाडौँ । राष्ट्रिय पर्यवेक्षकहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन विगतको तुलनामा शान्तिपूर्ण, भयरहित र मर्यादित हुने निष्कर्ष निकालेका छन् ।

निर्वाचन प्रचारप्रसारका क्रममा कुनैपनि ठुला झडप वा आचारसंहिताको गम्भीर उल्लङ्घन नभएको र उम्मेदवारहरू स्वयं अनुशासित देखिएकाले मतदान स्वच्छ र ऐतिहासिक हुने उनीहरूको विश्वास छ ।

नेपाल कानुन समाज र आम निर्वाचन पर्यवेक्षण समिति ९जिओक०ले देशभरका निर्वाचन क्षेत्रहरूमा गरेको अनुगमन र अवलोकनपछि बोल्दै पर्यवेक्षकहरुले मतदाताहरू सचेत रहेको र निर्वाचन आयोगको तयारी सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन् । निर्वाचन पूर्वतयारी र प्रचारप्रसारको समग्र अवधिलाई सूक्ष्म रूपमा नियाल्दा राजनीतिक दल र उम्मेदवारहरूबीच कुनैपनि किसिमको भौतिक झडप वा गम्भीर विवाद नदेखिनुलाई पर्यवेक्षकहरूले सकारात्मक उपलब्धिका रूपमा लिएका छन् ।

उम्मेदवारहरू स्वयंले उच्च राजनीतिक संस्कार र अनुशासन प्रदर्शन गरेको, निर्वाचन आचारसंहिताको पालनामा ‘पेपरलेस’ अभियानलाई प्राथमिकता दिएको र सानातिना प्राविधिक त्रुटिहरूलाई पनि डिजिटल माध्यम ९ह्वाट्सएप० बाट प्राप्त जानकारीका आधारमा तत्कालै सच्याउने तत्परता देखाएको पाइएको पर्यवेक्षकहरूको भनाइ छ ।

लुम्बिनी प्रदेशको रुपन्देही लगायतका जिल्लाहरूमा गरिएको स्थलगत अवलोकनका क्रममा मतदाताहरूमा कुनैपनि किसिमको भय वा त्रास नदेखिएको र उनीहरू आफ्नो दैनिक दिनचर्याका साथै निर्वाचन प्रक्रियामा सचेततापूर्वक सहभागी भइरहेको देखिएको छ । निर्वाचन आयोगको व्यवस्थापन र मौन अवधिको सुरुवातसम्मको शान्त अवस्थाले यस पटकको मतदान स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने बलियो आधार निर्माण गरेको भएपनि निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान सम्पन्न नहुँदासम्म सरोकारवाला निकायहरूलाई पूर्ण सजग रहन पर्यवेक्षकहरूले आग्रह गरेका छन् । वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय पर्यवेक्षक परशुराम कोइरालाले यस पटकको निर्वाचन मतदातामैत्री र भयरहित तरिकाले अगाडि बढेको बताए ।

उनकाअनुसार राजनीतिक दलका उम्मेदवारहरूले आफूलाई अनुशासनमा राखेका कारण प्रचारप्रसारका क्रममा कुनै झडपका घटनाहरू भएका छैनन् । आचारसंहिता उल्लङ्घनका सन्दर्भमा पनि कुनै गम्भीर लिखित उजुरी नदेखिएको उनको भनाइ छ । सामान्य कुराहरू ह्वाट्सएपमार्फत जानकारी गराउँदा उम्मेदवारहरूले आफैँ सुधार गरेको उनले उल्लेख गरे ।

उनले भने ‘नेपालमा यसपालिको इलेक्सन अरू बेलाको जस्तो कुनै किसिमको झडप केही पनि पाइएन । शान्तिपूर्ण रूपमा यो अगाडि बढेको छ । भयरहित छ, आम मतदाताहरू अवेयर हुनुहुन्छ र पोलिटिकल पार्टीका उम्मेदवारहरूले पनि आफूलाई बडो डिसिप्लिनमा राख्नुभएको छ । चुनावको प्रक्रियामा यो प्रचार–प्रसारको क्रममा कुनै किसिमको झडपहरू भएको देखिन सुन्नमा आएन र जहाँसम्म आचार संहिताको उल्लङ्घन के कस्तो रह्यो भन्ने सन्दर्भमा पनि खासै त्यस्तो कुनै इस्यु आएको लिखित रूपमा आएको पनि देखिएन । केही–केही कुराहरू आएको रहेछ भने ह्वाट्सएपहरूबाट त्यो पोलिटिकल पार्टी सम्बन्धितलाई उम्मेदवार कहाँ पठाउँदा उहाँहरूले आफैँले आफैँलाई करेक्सन गर्नुभएको अवस्था छ । र यसरी हेर्दा यो पटकको चुनाव भयरहित र असाध्यै मतदातामैत्री तरिकाले कण्डक्ट हुन गइरहेको छ भन्नेमा हामी विश्वस्त छौँ ।’

कानुन व्यवसायी एवं राष्ट्रिय पर्यवेक्षक उषा मल्ल पाठकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा गरिएको पर्यवेक्षणका क्रममा निर्वाचनको वातावरण अत्यन्तै शान्तिपूर्ण पाइएको जानकारी दिए । उनले यस पटकको निर्वाचनमा ‘पेपरलेस’ आचारसंहिताको प्रभावकारी पालना भएको बताए । उम्मेदवारहरूले आपसी सहमतिमा प्रचारप्रसारको तालिका मिलाएका कारण झडप र गालीगलौज नभएको बताए ।

निर्वाचन ऐतिहासिक हुने देखिए पनि यो संवेदनशील विषय भएकाले मतदान नसकिँदासम्म सुरक्षा निकाय र सरोकारवालाहरू सजग रहनुपर्नेमा उनले जोड दिए ।

उनले भने ‘निर्वाचन पूर्वतयारीका क्रममा लुम्बिनी प्रदेशको भैरहवा र बुटवल रुपन्देही जिल्लामा पर्यवेक्षण गर्ने क्रममा त्यहाँको पाँचवटा निर्वाचन क्षेत्रमध्ये चारवटा निर्वाचन क्षेत्रको अवलोकनको क्रममा र त्यहाँको तयारीको अवस्था प्रमुख निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, सिडियो कार्यालय, प्रमुख जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षाकर्मी लयागतसँगको छलफल गरेका थियौँ । मतदाताहरूसँगको छलफलमा र राजनीतिक दलका प्रतिनिधिहरू र उम्मेदवारहरू, साना दलका उम्मेदवारहरू, स्वतन्त्र उम्मेदवारहरू सबैसँगको छलफल लगायत अवलोकनको क्रममा त्यहाँ के देखियो भने अहिलेसम्म त्यहाँ कुनैपनि किसिमको तडकभडकहरु र झडपहरू, विवादहरू केही पनि देखिएन भने देखिन एकदमै शान्तिपूर्ण अवस्था रहेको पाइयो । त्यस्तै गरी निर्वाचनको जुन यो आचारसंहिताले पेपरलेस बनाउने भन्नेकुरा थियो । त्यसलाई धेरै हदसम्म सबै राजनीतिक दल र उम्मेदवारहरूले त्यहाँ प्रयोग गरेको पायौँ । उहाँहरूको सचिवालय अथवा प्रचारप्रसार कार्यालयमा ठुला एउटा एउटा आफ्ना उम्मेदवारहरूको पोस्टर र झन्डाहरू बाहेक अन्य ठाउँहरूमा कुनैपनि त्यस्ता पोस्टर, प्याम्प्लेट, पर्चाहरू देखिएन । र त्यस्तै गरी जनताहरू माझमा पनि निर्वाचनको माहौल भनेर एक किसिमको भय, त्रास केही पनि छैन । सबैजना आ–आफ्नो जे दैनिक दिनचर्यामा लागेका छन्, त्यसरी नै मतदाताहरू पनि स्वयं लागिराखेको अवस्था छ अहिलेसम्म । प्रचारप्रसारको शैली नै अलिकति फरक पायौँ । एउटा दल अथवा एउटा उम्मेदवार एउटा प्रचार गर्न जाँदा अर्को त्यहाँ नजाने खालको त्यो किसिमको, त्यो वातावरण पनि मिलाइएको पायौँ । उहाँहरू त्यही किसिममा सहमतिमा त्यसरी नै आफ्ना प्रचारप्रसारहरू गरिएको कारणले त्यहाँ कुनैपनि दल उम्मेदवारहरू बीचको झडप बीचमा होहल्ला, झडप एक अर्कालाई गालीगलौज जस्ता लगायतका कुनैपनि कार्यहरू नभएको भेटियो । र अहिलेसम्म लुम्बिनी प्रदेशको यो रुपन्देही जिल्लामा हिंसात्मक कार्यहरू भएको यो बिथोल्ने किसिमको यस्ताहरू पनि अहिलेसम्म सम्भावनाहरू नदेखिएको पाइयो । अथवा अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि निर्वाचन ऐतिहासिक हुने देखियो । तर पनि निर्वाचन हो । चाहे सुगम क्षेत्र भने पनि दुर्गम क्षेत्र भने यो संवेदनशील नै विषय हो । निर्वाचन आफैँमा संवेदनशील विषय भएको र जोखिमपूर्ण पनि हुने भएकोले अहिलेसम्मको हेर्दा एकदमै शान्तिपूर्ण, कुनैपनि जोखिमहरू देखिएको छैन तर यो दुई दिन अझै बाँकी छ निर्वाचन सम्पन्न हुँदासम्म पनि यही अवस्था रहिरह्यो भने यो एकदमै ऐतिहासिक हुन्छ । यो संवेदनशील विषय भएकाले सम्बन्धित निकाय र सरोकारवाला सजग रहनुपर्छ ।’

राष्ट्रिय पर्यवेक्षक हरिविनोद अधिकारीले मनोनयनको समयमा रहेको निर्वाचनप्रतिको शङ्का अहिले निवारण भएको बताए । निर्वाचन आयोगले तोकेको समयसीमाअनुसार तयारीहरू पूरा भएको र मौन अवधिको सुरुवातसम्म कुनैपनि अप्रिय घटना नभएको उनको भनाइ छ । विभिन्न जिल्ला र प्रदेशको अवस्थालाई विश्लेषण गर्दा यस पटकको निर्वाचन स्वच्छ, धाँधलीरहित र ऐतिहासिक रूपमा सफल हुने अधिकारीले दाबी गरे ।

उनले भने ‘यस पटक मनोनयन अलि हतार–हतारमै भयो र प्रायः जसो प्रि–म्याच्युर पूर्वअवस्था पूरा नभइकन हुन लागेको निर्वाचनमा शङ्का थियो पहिले । अहिले त्यो शङ्का निवारण भयो । किनभने मनोनयनको बेलादेखि आजसम्म त्यस्तो उल्लेख्य झगडा भएको पनि सुनिएन । र निर्वाचन आयोगले पनि आफ्नो तयारी आफ्नो समय–समयावधिलाई जुन तोकेर गरेको थियो । त्योअनुसार भएको छ र मौन अवधिसम्म आइपुग्दा कुनैपनि किसिमको त्यस्तो निर्वाचन बिथोलिने खालको वातावरण केही नदेखिएको र आजको मिति जहाँ मौन अवधि सुरु भइसक्यो र पनि त्यस्तो केही देखिएको छैन । र हामीले जति जिल्लाको हामीले थाहा पायौँ र प्रदेशको थाहा पायौँ त्यसले के देखायो भने निर्वाचन स्वच्छ हुन्छ, निर्वाचन धाँधलीरहित हुन्छ र निर्वाचन ऐतिहासिक रूपमा नै सफल हुन्छ भन्ने अहिलेसम्मको हाम्रो आँकलन छ । र हामीलाई के लाग्छ भने अब बाँकी ४८ घण्टा पनि र चुनावको सिद्धिने बेलासम्ममा पनि यही तरिकाले जाओस् र जान्छ भन्ने हामीले आँकलन गरेका छौँ ।’

यस पटकको निर्वाचन प्रचारप्रसारको शैली र उम्मेदवारहरूको अनुशासनले नेपाली लोकतन्त्र परिपक्व बन्दै गएको सङ्केत गरेको पर्यवेक्षकहरूको ठम्याइ छ । मौन अवधिको यो शान्त वातावरण मतदान नसकिँदासम्म कायम रहेमा यस पटकको निर्वाचन नेपालको इतिहासमै सबैभन्दा स्वच्छ र नमुना योग्य हुने विश्वास पर्यवेक्षकहरुले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =