टुकुचामाथि बक्स कल्भर्ट : वर्षायामको डुबान अन्त्य गर्ने तयारी (तस्बिरहरू)

काठमाडौँ। व्यस्त पुतलीसडक–बागबजार हुँदै रत्नपार्क जाने सडक खण्ड यति बेला निर्माणको चापमा छ। काठमाडौँ महानगरपालिकाले टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण कार्य अघि बढाएसँगै सवारी आवागमन अस्थायी रूपमा बन्द गरिएको छ।

महानगरका अनुसार योजनाको कुल लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ। निर्माणाधीन बक्स कल्भर्ट पाँच मिटर चौडाइ र १४ मिटर लामो हुनेछ। संरचनाले सडकको सतहलाई मजबुत बनाउँदै तलबाट बग्ने टुकुचाको पानीलाई व्यवस्थित निकास दिने उद्देश्य राखेको छ।

टुकुचा क्षेत्रमा वर्षा याममा पानीको बहाव बढ्दा सडक जलमग्न हुने र सवारी आवागमन अवरुद्ध हुने समस्या वर्षौँदेखि दोहोरिँदै आएको थियो। वर्षा तीव्र हुँदा सडक नै खोलाजस्तै देखिने अवस्था सिर्जना हुन्थ्यो। नयाँ बक्स कल्भर्टले पानीको बहावलाई अवरोध नगरी व्यवस्थित रूपमा पार गराउने भएकाले आगामी वर्षा याममा डुबानको समस्या न्यून हुने अपेक्षा गरिएको छ।

निर्माण कम्पनीसँग आउँदो चैत मसान्तभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरले जनाएको छ। निर्धारित समयभित्र काम सकिएमा यस क्षेत्रको यातायात व्यवस्थापन मात्र होइन, सडक संरचनाको दिगोपन र सुरक्षा स्तरसमेत उल्लेखनीय रूपमा सुधार हुने विश्वास गरिएको छ।

धुलाम्मे सडक, अस्थायी डाइभर्सन र निर्माण सामग्रीका बिच अहिले देखिएको असहजता केही महिनापछि सुरक्षित र व्यवस्थित सडकमा रूपान्तरण हुने अपेक्षासहित टुकुचा क्षेत्रमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ।

तस्बिरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fourteen =