झापामा केपी ओलीः ‘जहाँ उभियो, त्यहीँ एमालेको विकास देखिन्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् ।

झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छवि रहेको कुरा आम नागरिकलाई जानकारी रहेको बताए । विपक्षीहरूको ‘भिजनविहीन’ राजनीतिले देश विकास हुन नसक्ने बताए ।

ओलीले नेशनल भोलेन्टियर फोर्स केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने एउटा अनुशासित दस्ता भएको स्पष्ट पारे ।

अध्यक्ष ओलीले नवनिठित नेशनल भोलेन्टियर फोर्सलाई बधाई दिँदै फोर्सको आवश्यकता धेरै रहेको बताए । ‘यो फोर्स एउटा संगठित, अनुशासित र देश तथा जनताप्रति प्रतिवद्ध शक्ति हो । यसले देशलाई माया गर्छ, शान्ति स्थापनाका लागि प्रयास गर्छ र सुशासनका लागि लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ’ उनले भने ।

ओलीले विगतमा राज्य संयन्त्रमाथि मात्र भर पर्दा देशले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराए । ‘हामीले देख्यौँ, जब देशभक्त र लोकतान्त्रिक शक्तिहरू केवल राज्य संयन्त्रमा मात्र भर परे, तब हाम्रा घरहरू जले, पार्टी कार्यालयहरू जले, र जनप्रतिनिधिहरूको सर्वोच्च संस्था संसददेखि सिंहदरबार र न्यायालयसम्ममा आक्रमण भयो ।’ ओलीले आक्रोश पोख्दै भने ‘अब नेशनल भोलेन्टियर फोर्स बनेको छ, अब कतै पनि केही जल्न दिइनेछैन । सिंहदरबार जलाउने वा प्रहरीमाथि आक्रमण गर्ने अपराधीहरूलाई यो फोर्सले नियन्त्रण गर्नेछ ।’

विपक्षीमाथि तिखो प्रहारः ‘ड्राइभर बिनाको गाडी’ जस्तो देश

आफ्नो सरकार ढलेपछिको अवस्थालाई चित्रण गर्दै ओलीले विपक्षी दलहरूमाथि तिखो व्यङ्ग्य गरे । ‘म सरकारको नेतृत्वमा हुँदा देश कुद्छ, तर मलाई हटाउने बित्तिकै देश ड्राइभर बिनाको गाडी जस्तो हुन्छ । जहाँको त्यहीँ थन्किन्छ’ उनले भने ।

उनले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने अन्य नेताहरूलाई ‘बच्चा’ को संज्ञा दिए । ‘अहिले कतिपय मान्छेहरू प्रधानमन्त्रीको क्यान्डिडेट भन्दै हिँडेका छन् । बच्चालाई सोध्यो भने उसले पनि म राष्ट्रपति हुन्छु भन्नसक्छ तर घोषणा गर्दैमा भइहालिने होइन । हामी एउटा भिजन र गन्तव्यका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन हिँडेका छौँ’ उनले भने ।

एमालेको विकास मोडेलः ‘जहाँ उभियो, त्यहीँ विकास’

अध्यक्ष ओलीले विकासका सन्दर्भमा एमालेको रिपोर्ट कार्ड प्रश्तुत गर्दै विपक्षीहरूलाई चुनौती दिए । उनले भने ‘एमालेले के ग¥यो भनेर सोध्नेहरूले महाकाली वा दार्चुलाको उदाहरण हेर्नु पर्दैन । देशको जुनसुकै कुनामा उभिएर वरिपरि हेर्नुस्, एमालेले गरेको विकास देखिन्छ। जहाँ उभिनुभएको छ, त्यहीँबाट एमालेको विकास हाक्ने क्षमता प्रष्ट हुन्छ ।’

उनले दमक र झापाको उदाहरण दिँदै भने ‘हिजो दमकमा पेट्रोम्याक्स बालेर कार्यक्रम गर्नुपथ्र्यो, आज घरघरमा बिजुली छ । हिजो चापाकलको रातो पानी खानुपथ्र्यो, आज पानीका ट्याङ्कीहरू ठडिएका छन् । घर अगाडि कालोपत्रे सडक पुगेको छ । तैपनि कतिपयले ‘अहिले सम्म के भयो?’ भन्दै प्रश्न गर्छन् ।यो भनेको कि त बुझ्दै नबुझ्नेको कुरा हो, कि त पूर्वाग्रह हो ।’

आसन्न निर्वाचनको सन्दर्भमा बोल्दै ओलीले नेशनल भोलेन्टियर फोर्सलाई शान्तिपूर्ण मतदानको वातावरण बनाउन निर्देशन दिए । ‘नेकपा एमाले निष्पक्ष र धाँधलीरहित निर्वाचन चाहन्छ । मतदाताले स्वतन्त्र रूपमा मत खसाउन पाउनुपर्छ ।कसैले बुथ कब्जा गर्ने कल्पना गरेको छ भने त्यो दिवास्वप्न मात्र हुनेछ । बुथ कब्जा गर्ने छुट कसैलाई छैन’ उनले भने ।

उनले प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर खटाउन र टोल–टोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई आह्वान गरे । ‘भोलेन्टियर फोर्सको बोली नरम र मिठो हुनुपर्छ, तर सत्य र न्यायको रक्षाका लागि यो जुनसुकै मूल्य चुकाउन तयार हुनुपर्छ’ उनले भने ।

अधुरा आयोजना र सुकुम्बासी समस्या

ओलीले आफ्नो कार्यकालमा शुरु भएका तर अहिले रोकिएका आयोजनाहरूको चर्चा गर्दै ती कामहरू पूरा गर्न एमाले नै सरकारमा आउनुपर्ने बताए । लखनपुरको रंगशाला विवादबारे बोल्दै उनले भने ‘केही दलहरूले अनावश्यक विवाद निकालेर काम रोक्न खोजे । आदिवासी जनजातिको नाममा झमेला खडा गरियो । म सोध्न चाहन्छु, अरुले पाँच वर्ष नेतृत्व गर्दा किन एउटा रंगशाला बनाउन सकेनन् ? त्यो काम केपी ओली र एमालेले मात्र गर्न सक्छ र हामी त्यो रंगशाला बनाएरै छोड्छौँ ।’

सुकुम्बासी समस्याबारे उनले भने ‘हामीले धनीपूर्जा वितरणको तयारी गर्दा सरकार ढालियो । आयोग भङ्ग गरियो । तर हामीले सर्वोच्चबाट आयोग फिर्ता ल्याएका छौँ । भूमिहीन र सुकुम्बासी समस्याको स्थायी समाधान एमालेले नै गर्नेछ ।’

विकासको जिम्मा मेरो, ढुक्क हुनुस्

अध्यक्ष ओलीले झापा, कोशी प्रदेश र सिङ्गो देशको विकासको ग्यारेन्टी लिए । ‘यस जिल्ला, प्रदेश र देशको विकासको जिम्मा मेरो भयो, तपाईंहरू ढुक्क हुनुस् । आज हुम्लाको सिमिकोटदेखि ओलाङचुङगोलासम्म सडक सञ्जाल पुगेको छ । यो सबै एमालेको योजना र दृढताको परिणाम हो’ उनले भने ।

अध्यक्ष ओलीले नेपालको प्राकृतिक स्रोत र खानीहरूको उत्खनन गरी देशको अर्थतन्त्रमा ठूलो फड्को मार्ने उद्घोष गरे ।

ओलीले आफू सरकारमा रहँदा धौबादी फलाम खानीको आधुनिकीकरण र दैलेखको मिथेन ग्यास उत्खननलाई प्राथमिकतामा राखिएको बताए । उनकाअनुसार २०८५ सालभित्र धौबादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने लक्ष्य रहेको छ । जसले नेपालमा सयौँ वर्षसम्म आइरन र स्टिलको आवश्यकता पूरा गर्नेछ । ‘दैलेखमा १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास प्राप्त भएको पत्ता लागेको छ । यो ग्यास नेपालका चुलाचुला र उद्योगहरूमा पु¥याउन पर्याप्त छ, जसले हाम्रो इन्धन आयातको निर्भरता अन्त्य गर्नेछ’ उनले भने ।

अध्यक्ष ओलीले देशको मुहार फेर्नका लागि पहिलो शर्त शान्ति सुव्यवस्था रहेको उल्लेख गरे । ‘तपाईं हामी निर्भय वातावरणमा ढुक्क भएर बस्न, बाँच्न र कारोबार गर्न पाउने वातावरण चाहिन्छ, त्यो हामी स्थापना गर्छौँ’ उनले भने ।

आतंक मच्चाउनेहरूले शान्ति र विकास गर्न नसक्ने भन्दै उहाँले एमाले देश बनाउने पार्टी भएको दाबी गरे ।

युवा र महिलाका लागि स्टार्टअप कार्यक्रम

युवाहरूका लागि स्टार्टअप र महिला उद्यमीहरूका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू अगाडि बढाइएको उहाँले जानकारी दिए । निर्यात बढाउने र उद्यमी व्यवसायीहरूलाई शान्ति सुरक्षाको प्रत्याभुति दिँदै उद्योगहरू अगाडि बढाउने सम्बन्धमा काम भइरहेको उनको भनाइ थियो ।

मिथेन ग्यासको व्यावसायिक उत्पादनले इन्धन आयातमा हुने अर्बौँ रुपैयाँ वचत हुने उनको भनाइ छ । त्यसैले नै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न संकल्प लिएको बताए ।

‘एमालेले बनाउँछ, बिगार्दैन’

उनले देशभर एमालेलाई विजयी बनाउन आग्रह गर्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान समेत गरे । एमालेको संकल्प समृद्ध नेपाल र सुखी नेपाली रहेको बताउँदै एमालेले बनाउने तर कहिल्यै नबिगार्ने जिकिर गरे ।

आफ्नो चुनावी घोषणापत्रको चर्चा गर्दै ओलीले भने ‘हाम्रो संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’ हो । एमालेले बनाउँछ, बिगार्दैन, भत्काउँदैन, जलाउँदैन । जनताको कमजोर भएको मनोबल सुदृढ बनाउने काम नेकपा एमालेले गर्छ ।’

जनताको कमजोर भएको मनोबल सुदृढ बनाउने काम नेकपा एमालेले गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 3 =