नासा सेक्यूरिटीजले २ करोड सम्मको मार्जिन ट्रेन्डिङ सुविधा दिने

काठमाडौं । नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी नासा सेक्यूरिटीज ले मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ लागू भएपछि कम्पनीले मिति २०८२/११/०४ बाट उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार अब लगानीकर्ताहरूले ब्रोकरमार्फत नै ऋण लिएर शेयर खरिद गर्न सक्नेछन् । यस सुविधाले लगानीकर्तालाई बजारका आकर्षक अवसरहरूको सदुपयोग गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ । विभिन्न प्रकारका ग्राहक तथा उनीहरूको ऋण आवश्यकतालाई ध्यानमा राख्दै ऋण संरचना लचिलो र ग्राहक–मैत्री बनाइएको कम्पनीले जनाएको छ ।
२०७५ को पुरानो निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको नयाँ निर्देशिका, २०८२ अन्तर्गत कम्पनीले नयाँ योजना तथा स्किमहरू सार्वजनिक गरेको हो । हरेक ग्राहकको मार्जिन आवश्यकतालाई सम्बोधन गर्ने गरी योजना तयार पारिएको कम्पनीको भनाइ छ ।
३० प्रतिशत प्रारम्भिक मार्जिनमै १० लाखसम्म लगानी
कम्पनीका अनुसार यदि कुनै ग्राहकले १० लाख रुपैयाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहेमा ३० प्रतिशत अर्थात् ३ लाख रुपैयाँ प्रारम्भिक मार्जिन राखेर कारोबार सुरु गर्न सक्नेछन् । बाँकी ७ लाख रुपैयाँ कम्पनीबाट ऋण सुविधा उपलब्ध हुनेछ ।
ऋण अवधिअनुसार सेवा शुल्क तथा ब्याज दर यसप्रकार रहने बताइएको छः
१ महिनाका लागि ऋण लिँदा सेवा शुल्क तथा ब्याज गरी जम्मा ७ हजार रुपैयाँ
२ महिनाका लागि १३ हजार ६५० रुपैयाँ
३ महिनाका लागि १९ हजार ९५० रुपैयाँ
कम्पनीले १० लाखदेखि २ करोड रुपैयाँसम्मका विभिन्न योजना तथा अफरहरू उपलब्ध गराएको छ, जसको अवधि १ महिनादेखि ३ महिनासम्म रहनेछ ।
खाता नासामै अनिवार्य
मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक ग्राहकले आफ्नो डिम्याट खाता तथा मार्जिन खाता नासामै खोल्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ । ऋण प्रक्रिया अघि बढाउन नजिकको शाखा कार्यालयमा उपस्थित भई केवाईसी फाराम भर्नुका साथै आवश्यक आधिकारिक कागजातहरू पेश गर्नुपर्नेछ। आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यद्यपि, ग्राहकहरूले सेबोनद्वारा जारी निर्देशिका अनुसार मार्जिन ट्रेडिङका लागि योग्य कम्पनीहरूको सूचीभित्र मात्र कारोबार गर्नुपर्नेछ । कम्पनीले आफ्ना ग्राहकलाई छिटो, उच्च गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै सेवा विस्तारसँगै गुणात्मक सुधारका लागि रचनात्मक सुझाव दिन आग्रह गरेको छ ।
थप जानकारीका लागि इच्छुक ग्राहकहरूले कम्पनीको कार्यालयमा सम्पर्क गर्न वा ०१–५९७००८४ मा फोन गर्न सक्नेछन् ।








