‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गत शुक्रवार महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको हो ।
२०८२ साल भाद्र ११ गते देखी २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरू संकलन गरिएको थियो । यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरू खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरू मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए । प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।
काठमाडौँमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्वितिय तथा तृतीय स्थान र पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो हुन सफल भएका छन् ।
बैंकका अनुसार विजेताले प्रमाणपत्रका साथमा क्रमशः २५ हजार, २० हजार र १५ हजारनगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् । उनले प्रमाणपत्रको साथै १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो । यस्ता कार्यहरूबाट स्थानीय व्यवसाय, उद्यमशीलता, स्थानीय कलाको प्रवर्द्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।








