जलवायु परिवर्तनलाई चुनावी एजेण्डा बनाउन अञ्जान शाक्यको आग्रह

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले आगामी निर्वाचनमा राजनीतिक दलहरूले जलवायु परिवर्तनलाई मुख्य एजेण्डा बनाउनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले अबका घोषणापत्रहरूमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका पुरानै शैलीका मात्र कुरा गरेर नपुग्ने बताएकी हुन् ।

अबको मुख्य एजेण्डा जलवायु परिवर्तन हुनुपर्ने उनको भनाइ छ । उनले नेपालको हरितगृह ग्यास उत्सर्जन नगन्य (०.०५६ प्रतिशत) भएपनि यसको गम्भीर मारमा नेपाल अग्रपंक्तिमा रहेको तथ्य पेस गरिन् ।

शाक्यले गत भदौ महिनामा भएका अराजक घटनाहरूले देशको लगानीको वातावरण धमिलिएको र अर्थतन्त्र जोखिमपूर्ण मोडमा पुगेको प्रति चिन्ता व्यक्त गरिन् । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क उद्धृत गर्दै उनले नेपालको औसत अधिकतम तापक्रम विगत चार दशकमा २.४ डिग्री सेल्सियस बढेको र हिमनदी पग्लिने दर ६५ प्रतिशतले वृद्धि भएको जानकारी दिइन् ।

क्लाइमेट एनालिटिक्सको अध्ययनअनुसार यदि यही अवस्था रहे सन् २०५० सम्म नेपालको जीडीपी १८ प्रतिशतले घट्न सक्ने चेतावनी समेत उनले बताइन् ।

उनले भनिन् ‘गत भदौ महिनाका घटनाहरूले देशका धेरै संरचनाहरू खरानी बनाइदिए । सरकारी सेवाग्राही संस्थाहरू ध्वस्त हुँदा नागरिकले सास्ती पाएका छन् । तर त्यो भौतिक क्षति भन्दा ठुलो क्षति विश्वासको भएको छ । जब कुनै समाजमा अराजकताले प्रश्रय पाउँछ र उद्योगी व्यवसायीहरू माथि भौतिक आक्रमण हुन्छ तब लगानीको वातावरण धमिलिन्छ । विदेशी त के आफ्नै देशका स्वदेशी लगानीकर्ताहरू समेत लगानी गर्न हच्किएको वर्तमान अवस्थामा मुलुकको अर्थतन्त्र अत्यन्तै जोखिमपूर्ण मोडमा पुगेको छ । आज हाम्रा हजारौँ युवाहरूले रोजगारी गुमाइरहेका छन् । सरकारले अब कुनै एक वा दुई प्रदेशहरूमा मात्र होइन सातै प्रदेशहरूमा लगानीमैत्री वातावरण सिर्जना गर्न र चुनाव माहौलका बीच पनि जनतामा सकारात्मक सन्देश प्रवाह गर्न तत्काल विशेष कार्यक्रम ल्याउनुपर्छ । आर्थिक रूपान्तरणका लागि कोरा नारा होइन सुरक्षित लगानीको ग्यारेन्टी र व्यवहारिक कार्यान्वयन नै आजको आवश्यकता हो । अध्यक्ष महोदय, चुनावको माहौल नजिकिँदै छ । राजनीतिक दलहरू आ–आफ्ना घोषणापत्र लेख्न र सार्वजनिक गर्न व्यस्त छन् । म यस गरिमामय सदन मार्फत सबै दलहरूलाई आग्रह गर्न चाहन्छु अबका घोषणापत्रहरूमा शिक्षा, स्वास्थ्य र पूर्वाधारका पुरानै शैलीका मात्र कुरा गरेर पुग्दैन अबको मुख्य एजेण्डा जलवायु परिवर्तन हुनुपर्दछ । वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ कि अत्यधिक हरितगृह ग्यास उत्सर्जनले पृथ्वी तातिरहेको छ । यद्यपि विश्वको तुलनामा नेपालको उत्सर्जन केवल ०.०५६ प्रतिशत मात्र छ तर यसको गम्भीर मारमा हामी सबैभन्दा अग्रपंक्तिमा छौँ । हाम्रो सुदूरपश्चिम र कर्णाली प्रदेशहरूका गाउँहरूमा पानीका मुहान सुकिरहेका छन्। मधेस प्रदेशमा खडेरी र डुबानको चक्रले किसानको ढाड सेकेको छ ।

पहाडी र हिमाली प्रदेशहरूमा पहिरो र हिमताल विस्फोटको जोखिमले बस्तीहरू विस्थापित भइरहेका छन्। कोशी र गण्डकी प्रदेशहरूका हिमनदीहरू पग्लिने दर अघिल्लो दशकको तुलनामा ६५ प्रतिशतले बढेको छ। जलवायु परिवर्तन केवल वातावरणको विषय मात्र होइन अध्यक्ष ज्यु, यो हाम्रो खाद्य सुरक्षा, जनस्वास्थ्य, बसाइसराइ, रोजगारी र समग्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको औसत अधिकतम तापक्रम विगत चार दशकमा २.४ डिग्री सेल्सियस बढिसकेको छ। क्लाइमेट एनालिटिक्सको अध्ययनले चेतावनी दिएको छ कि यदि यही अवस्था रहे सन् २०५० सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपी १८ प्रतिशतले घट्न सक्छ। यसको सीधा अर्थ हो जलवायु परिवर्तनलाई व्यवस्था गर्नु भनेको हामी हाम्रो भावी समृद्धिलाई नै दाउमा राख्नु हो। विगत १५ वर्षमा बाढी र पहिरोका ७ हजार भन्दा बढी घटनाले ३ हजार नागरिकको ज्यान लियो र २०.५ अर्ब भन्दा बढीको आर्थिक क्षति गरायो। यो तथ्याङ्कले के देखाउँछ भने हामीले विकासका लागि विनियोजन गरेको बजेटको ठुलो हिस्सा राहत र पुनर्निर्माणमा खर्च गर्न बाध्य छौँ। यो चक्रलाई नतोडेसम्म हामी दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौँ। अब जलवायु परिवर्तन सम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले २०८२ असार २९ गते उक्त समितिलाई बुझाएको थियो। त्यो प्रतिवेदन पनि यस सम्मानित सभामा छलफल चलाउँदा राम्रो हुन्छ कि भन्ने मेरो धारणा रहेको छ। सम्माननीय अध्यक्ष ज्यू, अब हामीले समाधानको बाटो पक्कै पनि खोज्नै पर्छ। जलवायु परिवर्तनलाई चुनौती मात्र होइन अवसरका रूपमा पनि बुझ्नुपर्छ। सबैभन्दा पहिला ऊर्जा रूपान्तरण। हाम्रै देशमा उत्पादित जलविद्युत प्रयोग गरेर विद्युतीय बस, मेट्रो, साइकल लेन र विद्युतीय भान्सालाई व्यापक बनाउनुपर्छ। यसले कार्बन उत्सर्जन घटाउनुका साथै पेट्रोलियम आयातमा हुने खर्बौँ रुपैयाँ बचत गरी हाम्रो अर्थतन्त्र बलियो बनाउँछ। दोस्रोमा औद्योगिक सुधार। सिमेन्ट कारखाना र इँटाभट्टामा कोइलाको सट्टा स्वदेशी विद्युत् प्रयोग गर्ने नीति कडाइका साथ लागू गरिनुपर्छ ।’

समस्याको समाधानका लागि शाक्यले ऊर्जा रूपान्तरण र औद्योगिक सुधारको प्रस्ताव अघि सारेकी छन् । स्वदेशी जलविद्युतको प्रयोग गरी विद्युतीय सवारी साधन, मेट्रो, र विद्युतीय भान्सालाई व्यापक बनाउनुपर्ने उनको धारणा छ । साथै, सिमेन्ट कारखाना र इँटाभट्टामा कोइलाको सट्टा स्वदेशी विद्युत् प्रयोग गर्ने नीति कडाइका साथ लागू गर्न उनले सरकारसँग माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =