पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा समर्थकहरूको भीड (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर भेला भएका छन् ।
काठमाडौं प्रशासनले विमानस्थल आसपास निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको भए पनि राजावादी समूहका समर्थकहरू ठूलो संख्यामा त्यहाँ पुगेका हुन् । बिहानैदेखि विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
पूर्वराजा शाह आज झापाबाट काठमाडौं आउँदै छन् । उनको स्वागतका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसमेत विमानस्थल पुगेका छन् ।
हाल विमानस्थलबाहिर पूर्वराजाका समर्थकहरूको उल्लेख्य भीड देखिएको छ । प्रहरीले राजावादी समूहका समर्थकहरूलाई विमानस्थल परिसर प्रवेश गर्न नदिई बाहिरै रोकेर राखेको जनाएको छ ।
समर्थकहरूले नारावाजी गरिरहेका कारण विमानस्थल आवतजावतमा समेत असर परेको छ । यात्रुहरूलाई प्रवेश तथा बाहिरिन असहज भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घटनास्थलमा सुरक्षा सतर्कता उच्च बनाइएको प्रहरीले जनाएको छ ।









