देउवाको 'असामान्य' मौनता

म कुन आधारमा भोट माग्न हिँड्ने ?

काठमाडौं । नेपाली राजनीतिका चतुर खेलाडी एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको ‘मौनता’ यति वेला राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ । ६ दशक लामो सक्रिय राजनीतिमा सधैँ चर्चा र विवादको केन्द्रमा रहने देउवा, आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको संघारमा भने महाराजगन्जस्थित आफ्नै निवासको पर्खालभित्र सीमित छन् ।

पार्टीभित्र नयाँ पुस्ताले अस्तित्वको लडाइँ लडिरहँदा र चुनावी अभियानले देशैभरि तीव्रता पाउँदा पनि देउवाको यो ‘असामान्य’ मौनतालाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण भएपछि सुरु भएको उनको यो निष्क्रियता स्वास्थ्यका कारण नभई राजनीतिक हैसियतको अन्योल र कानुनी लडाइँको उपज भएको विश्लेषण गर्न थालिएको छ ।

निर्वाचन आयोगले २ माघमा विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नयाँ नेतृत्व (सभापति गगनकुमार थापा)लाई मान्यता दिएपछि देउवा पक्ष रक्षात्मक बनेको छ । आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत पुगेका छन् । अदालतमा मुद्दा विचाराधीन रहेकाले आफ्नो औपचारिक हैसियत के हुने भन्ने प्राविधिक प्रश्नले उनलाई चुनावी मैदानमा जान रोकेको देखिन्छ ।

कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार हैसियतको स्पष्टता नभई देउवा सार्वजनिक रूपमा देखिने सम्भावना न्यून छ । ‘अदालतले आधिकारिकताको निरूपण नगरेसम्म उहाँ कुन हैसियतमा प्रचारमा जाने भन्ने प्राविधिक प्रश्न छ,’ विश्वकर्मा भन्छन् । यद्यपि, देउवाले निवासमै बसेर निकटस्थहरूसँग परामर्श र उम्मेदवारहरूलाई टेलिफोनमार्फत हौसला दिने काम भने गरिरहेका छन् ।

आन्तरिक तिक्तता
देउवानिकट स्रोतहरूका अनुसार उनी आफूलाई अपमानित ढंगले नेतृत्वबाट हटाइएको महसुस गरिरहेका छन् । १५औँ महाधिवेशनबाट ससम्मान बिदा लिने तयारीमा रहेका बेला विशेष महाधिवेशनमार्फत ‘जबर्जस्ती’ हटाइएको बुझाइ देउवाको छ । ‘मेरो अनुहारै हेर्न नचाहनेहरूले पार्टी हातमा लिए, अब म कुन आधारमा भोट माग्न हिँड्ने ?’ भन्दै उनले निकटस्थहरूसँग गुनासो गर्ने गरेका छन् । विशेष गरी ‘जेनजी’ आन्दोलनका क्रममा आफूमाथि भएको दुर्व्यवहार र त्यसमा पार्टीकै साथीहरूको भूमिकालाई लिएर उनी निकै मर्माहत देखिन्छन् ।

विशेष महाधिवेशनपछि नयाँ सभापति गगन थापा र देउवाबीचको संवाद करिब टुटेको छ । देउवाले थापालाई न त बधाई दिएका छन्, न त कुनै सहकार्यको हात नै बढाएका छन् । बरु, उनी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवादमा रहेको स्रोतको दाबी छ । संसद् पुनःस्थापना जस्ता कतिपय मुद्दामा देउवा र ओली एउटै कित्तामा उभिनुले राजनीतिमा नयाँ समीकरणको संकेत समेत गरेको छ ।

सार्वजनिक कार्यक्रममा उपस्थिति शून्य भए पनि देउवाले सामाजिक सञ्जालमा भने आफ्नो पुरानो पहिचान त्यागेका छैनन् । फेसबुक र एक्स (ट्विटर) मा उनले अझै पनि आफूलाई ‘सभापति’ कै रूपमा प्रस्तुत गरिरहेका छन्, जबकि पार्टीको आधिकारिक वेबसाइटबाट उनको नाम हटिसकेको छ ।

यसपटक सात पटकसम्म अपराजित रहेको आफ्नो निर्वाचन क्षेत्र डडेल्धुराबाट पनि उनी उम्मेदवार छैनन् । अन्तिम पटक चुनाव लड्ने इच्छा भए तापनि पार्टीभित्रको आन्तरिक दबाब र कानुनी जटिलताका कारण उनले मध्यरातमा सचिवालयमार्फत उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

मौनताको चुनावी असर
देउवाको यो मौनताले कांग्रेसको चुनावी अंकगणितमा असर पर्ने भन्दै पार्टीभित्र एक तप्का चिन्तित छ । पार्टी प्रवक्ता देवराज चालिसे भने देउवाको ‘फेस भ्यालु’ लाई पार्टीले निर्वाचनमा प्रयोग गर्नेमा आशावादी छन् । ‘उमेर र स्वास्थ्यले साथ दिएसम्म उहाँले पार्टीलाई जिताउन भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ चालिसेले भने ।

अदालतको फैसला पर्खिरहेका देउवा चुनावअघि कुनै ठुलो राजनीतिक मोड नआए भोट हाल्न मात्र डडेल्धुरा जाने तयारीमा छन् । ६ दशकको राजनीतिक यात्रामा सधैँ ‘फ्रन्टलाइन’ मा रहेका देउवा यसपटक भने आफ्नै दलको चुनावी महासंग्राममा ‘दर्शक’ मात्र बन्ने हुन् कि निर्णायक मोडको प्रतीक्षामा छन्, त्यो भने गर्भमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =