रास्वपा उम्मेदवारको घरदैलोमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुलभ खरेल भोट माग्दै घरदैलोमा हिँडिरहेका बेला सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले प्रदर्शन गरेका छन् ।

बुधबार दिउँसो रूपन्देही निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका–११, होराइजन चोकमा घरदैलो कार्यक्रम चलिरहेका समयमा सहकारी पीडितहरूले नाराबाजीसहित विरोध जनाएका हुन् ।

‘तिम्रो नेता खोई ? लिएर आऊ’, ‘जेनजीका माग कस्ले पूरा गर्छ ?’, ‘सिंहदरबार किन जलाएको ?’ लगायतका नारा लेखिएका प्लाकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका थिए ।

नाराबाजी सुरु भएपछि घरदैलो अभियानमा रहेका उम्मेदवार खरेल नजिकैको एक होटलभित्र प्रवेश गरेका थिए ।

सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जना बचतकर्ताको ७८ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको दाबी गरिएको छ । अधिकांश बचतकर्ता न्यून आय भएका रहेको र उनीहरू तीन वर्षदेखि रकम फिर्ताको माग गर्दै संघर्षरत रहेका बताइएको छ ।

‘हामी पीडितको पैसा खाएका मान्छे खुलेआम हिँड्ने, पैसा फिर्ता नहुने ?’ भन्दै पीडितहरूले सामूहिक प्रश्न उठाएका छन् ।

यता, आफ्नो प्रचार अभियानका क्रममा प्रदर्शन भएको विषयमा उम्मेदवार खरेलले भने अनभिज्ञता प्रकट गरेका छन् । ‘म त बिहान १२ बजेतिर उक्त होटलमा खाना खान गएको हो । कोही पनि थिएनन्,’ खरेलले भने, ‘यो त अचम्मको कुरा भयो ।’

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको छ । त्यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण लिएको आरोप छ ।

गोर्खा मिडिया नेटवर्कले २०७७ फागुन ११ गते ग्यालेक्सी टिभी सञ्चालनमा ल्याएको थियो । कम्पनीमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला दुवैको समान २ लाख ५० हजार कित्ता शेयर रहेको थियो ।

सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न रहेको अभियोग लागेका रास्वपा अध्यक्ष रवि लामिछाने सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रूपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उनले सोमबार मात्रै तारेख लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =