छुटेका भूभाग नक्सामा समावेश गर्‍यौँ तर उपभोग गर्न सकेका छैनौँः सांसद भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद नेपालको नक्सामा छुटेका भूमी लिपुलेक, कालापनी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गर्न सफल भएपनि उपभोग गर्न नपाएको बताएका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बिदाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको सीमावर्ती भूभागलाई नेपालको नक्सामा समावेश गरी संविधानमा व्यवस्था गरिएको निर्णयलाई ऐतिहासिक अवसरका रूपमा लिएको बताए ।

नेकपा एमाले राष्ट्रिय सभाको प्रमुख सचेतक समेत रहेका उनले उक्त निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई आफ्नो राजनीतिक जीवनकै महत्त्वपूर्ण क्षणका रूपमा स्मरण गरे । भट्टराईकाअनुसार संविधान संशोधनमार्फत समेटिएको सो भूभाग हालसम्म पनि व्यवहारिक रूपमा उपभोग गर्न सकिएको छैन ।

उनले निरन्तरको राजनीतिक अस्थिरताका कारण कूटनीतिक पहल प्रभावकारी हुन नसक्दा गुमेको भूमी फिर्ता ल्याउन समस्या भएको बताए । राजनीतिक अस्थिरताले गर्दा कानुनहरू बन्ने गरेपनि कार्यान्वयनमा समस्या भएको अनुभूति भएको उनको भनाई छ ।

उनले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन आवश्यक भएको बताए । देशको दीर्घकालीन हित र राष्ट्रिय स्वाभिमानको संरक्षणका लागि स्थिर राजनीतिक वातावरण अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले भने, ‘हामीले हाम्रो संविधानमा छुट भएको सुदूरपश्चिमको सीमानामा रहेको भूभागलाई नेपालको नक्सामा समावेश गरेर संविधानतः व्यवस्था गरेका छौँ । यो निर्णयमा हस्ताक्षर गर्ने क्षणलाई एउटा ऐतिहासिक अवसरको रूपमा लिएको छु । यद्यपि अहिलेसम्म उक्त भूमी उपभोग गर्न सकिएको छैन । निरन्तरको राजनीतिक अस्थिरताको कारण पनि कूटनीतिक काम व्यवस्थित हुन सकेको छैन । यस्तो हुन नसक्दा कार्यान्वयनमा समस्या रहेको अनुभूति भएको छ । अब राजनीतिक स्थायित्वका लागि पनि संविधान संशोधन गरेर भएपनि स्थायित्व हुनु जरुरी छ ।’

उनले राष्ट्रिय सभाको कारण नै नेपालको संविधान जीवित रहेको उल्लेख गरे । नेपालको संविधानलाई केही तत्त्वहरूले फाल्न खोजेको उल्लेख गर्दै उनले राष्ट्रिय सभाको कारण असफल भएको बताए । उनले संविधान र संघीयताको सफल कार्यान्वयनको लागि राष्ट्रिय सभाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =