पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान (तस्बिरहरु)

काठमाडौ । नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य चुनौती बन्दै गएको छ ।
औसतमा हरेक दिन चार जना महिलाले यही क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् । विश्वमा चौथो स्थानमा पर्ने यो क्यान्सर नेपालमा भने दोस्रो स्थानमा रहेको छ, जसले बर्सेनि दुई हजारभन्दा बढी महिलाको जीवन लिइरहेको छ ।
यही जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै आएको छ ।
यस वर्ष माघ २५ देखि फागुन १५ सम्म ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान सुरु गरिएको छ । कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अभियानमार्फत करिब ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने लक्ष्य छ ।
सरकारले सन् २०१६ मा चितवन र कास्कीबाट सुरु गरेको यो अभियान पछिल्ला वर्षहरूमा देशव्यापी रूपमा विस्तार हुँदै आएको छ ।










