२० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् सामाजिक सुरक्षा भत्ता

काठमाडौं । सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् ।

आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिइन् ।

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको जानकारी दिइन् ।

उनकाअनुसार हाल ७० वर्षभन्दा माथिका १६ लाख ६० हजार ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् ।

साथै ६० वर्ष पूरा गरेका १ लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, १ लाख ७१ हजार एकल महिला तथा तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा रहेका छन् ।

सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी गराइन् ।

सचिव अर्यालले सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको बताइन् ।

स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको सैया वार्डको व्यवस्था गरिएको उनको भनाइ छ ।

उनले उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको जानकारी दिइन् ।

७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको सचिव अर्यालको स्वीकारोक्ति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =