थाक्रेमा दुई बस ठोक्किएर पसलमा छिर्दा टिपर चालकको मृत्यु

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६, दशकिलामा आइतबार बिहान दुईवटा बस एकापसमा ठोक्किएर सडक किनारको पसलमा पस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुनीवेशी नगरपालिका-९, स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेका छन् ।

प्रहरीका अनुसार आइतबार बिहान साढे ७ बजे दाङबाट काठमाडौंतर्फ आउँदै गरेका प्र.३-०१-००६ ख १५५२ र बा.प्र ०१-००६ ख ५२०६ नम्बरका दुईवटा बस एकापसमा ठोक्किएका थिए । दुर्घटनालगत्तै एउटा बस अनियन्त्रित भई सडक किनारमा खगेश्वर शर्माले सञ्चालन गरेको टिनले छाएको चिया पसलमा जोतिन पुगेको थियो ।

दुर्घटनाको समयमा तामाङ आफ्नो टिपर सडक किनारमा रोकेर उक्त पसलमा चिया पिइरहेका थिए । बसले पसललाई ठक्कर दिँदा उनी र पसल सञ्चालक शर्मा गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई तत्कालै उपचारका लागि काठमाडौं पठाइएकोमा ट्रमा सेन्टरमा उपचारका क्रममा बिहान १० बजे तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी प्रकाश दाहालले जानकारी दिए । पसल सञ्चालक शर्माको हाल ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका दुवै बसका यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै बस र तिनका चालकलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =