काँग्रेस नेतृत्वको सरकार बनेपछि सिंहदरबार जलाउनुपर्ने अवस्था हुँदैन: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा आज काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत गोकर्णेश्वर नगरपालिका–६ मा आयोजित ‘सर्लाही–४ र गोकर्णेश्वर नगरपालिका सम्पर्क मञ्च’को कार्यक्रममा सहभागी भएका छन् ।
काठमाडौँमा बसोबास गर्दै आएका सर्लाही–४ का मतदातासँग भेटघाट र अन्तरक्रिया गर्न थापा कार्यक्रममा उपस्थित भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनपछि बन्ने सरकार नेपाली काँग्रेसकै नेतृत्वमा हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि सबैलाई एकजुट हुन आग्रह गरे । काँग्रेस नेतृत्वको सरकार बनेपछि सिंहदरबार, संसद भवन वा अदालतजस्ता संवैधानिक संस्थाहरू जलाउनुपर्ने अवस्था नआउने भन्दै उनले राजनीतिक स्थायित्व र संस्थागत लोकतन्त्रको पक्षमा काँग्रेस दृढ रहेको बताए ।
थापाले नेपाली काँग्रेसले ‘इखको राजनीति’ नगर्ने स्पष्ट पार्दै घृणा, विभाजन र उक्साहटको राजनीति त्यागेर देशलाई समुन्नत बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । लोकतन्त्र, विधिको शासन र सामाजिक सद्भावलाई मजबुत बनाउने जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने दाबी गर्दै उनले सबै मतदातालाई काँग्रेसलाई मत दिन आग्रह गरे ।
मधेस र पहाडबीचको सम्बन्ध थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता उल्लेख गर्दै थापाले आफू सर्लाही आउनुको उद्देश्य सम्पूर्ण मधेसलाई देशको मूलधारसँग अझ बलियो रूपमा जोड्नु रहेको बताए । विकास, रोजगारी र सुशासन बिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले भावनात्मक होइन, परिणाममुखी राजनीति आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा सहभागीहरूले स्थानीय समस्या, मधेसको विकास र राष्ट्रिय राजनीतिबारे थापासँग आफ्ना जिज्ञासा राखेका थिए । थापाले जनताको आवाज संसद र सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएको महत्त्वपूर्ण अवसर भएको बताए ।










