प्रभु बैंकको सीईओमा सुमन शर्मा

काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् ।
मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओ नियुक्त गरेको हो ।
विगत २५ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यससअघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।
साथै उनीसंग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे, एनएमबी लगायत बैंकमा काम गरेको अनुभव रहेको छ ।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका हुन् । त्यसपछि सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए ।
सात वर्षसम्म उक्त बैंकमा काम गरिसकेपछि सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए हासिल गरेका शर्मा अर्थशास्त्र र एमबीए इन फाइनान्समा स्वर्ण पदक विजेता समेत हुन् ।








