लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई जिताउनुको विकल्प छैनः सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले लोकतन्त्रको रक्षा गर्न पनि नेपाली काँग्रेसलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।
निर्वाचन क्षेत्रका मतदाताहरूसँगको भेटघाट तथा घरदैलो कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले बोल्न, आफूलाई मन नलागेको कुरामा प्रतिवाद गर्ने अधिकार काँग्रेस लगायतका पुराना राजनीतिक दलहरूले लडेर ल्याएको स्मरण गराए । उनले लोकतन्त्रको रक्षा गर्न काँग्रेसलाई विश्वास गर्नुको विकल्प नभएको बताए । नेपाली काँग्रेस पहिला आफू बदलिएर देशको स्थिति बदल्ने सपना बोकेर निर्वाचनमा होमिएको जिकिर गरे ।
नयाँ, बदलिएको र एजेण्डासहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले विश्वास गर्नुपर्ने बताए ।
उनले भने ‘लोकतन्त्रको रक्षा गर्ने हो भने तपाईँ हामीले आज मन लागेको चिज बोल्न त पाएको छ नि । प्रतिवाद गर्न पाएको छ । सरकारले थुनिहाल्यो भने अदालतले छोड्ने डेमोक्रेसीको पाँच पिल्लरमध्ये एउटा स्वतन्त्र न्यायालय कल्पना गरेको छ । त्यसमा त्रुटि होलान्, सुधार गर्नुपर्छ । लोकतन्त्रको रक्षा गर्ने हो भने हामीलाई नै विश्वास गर्नुपर्छ । त्यसको विकल्प नै छैन । अब हामीले बदलिएको काँग्रेस लिएर आएका छौँ । तपाईँहरूले हेर्नुभयो नयाँ नयाँ भन्छन् । काँग्रेस पार्टीको इतिहासमा उलटपुलट गराएर हामी आएका छौँ । नयाँ काँग्रेस हामीले बनाएर ल्याएका छौँ । नयाँ, बदलिएको र नयाँ भिजनसहित आएको काँग्रेसलाई तमाम नेपाली जनताले पत्याउनुपर्छ । पत्याउनुभएन भने देश भड्खालोमा जान्छ ।’
नेता शर्माले नागरिक भुलभुलैयामा परे देशको दुर्भाग्य निश्चित रहेको बताए । बदलिएको काँग्रेसले नै देश बदल्ने बताए । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई अत्यधिक मत दिएर विजयी गराउने कुरामा आफू विश्वस्त रहेको बताए ।








