दीर्घकालीन खेलाडी विकास र व्यवस्थापन गर्न पेसएक्स स्पोर्टसको स्थापना

काठमाडौं । खेल तालिम तथा व्यवस्थापन कम्पनी पेसएक्स स्पोट्र्सले दीर्घकालीन खेलाडी विकास र समग्र स्वास्थ्यमा केन्द्रित विश्वस्तरीय खेल तालिम प्रणाली स्थापना गर्ने भएको छ ।
पेसएक्स स्पोट्र्सले काठमाडौंको त्रिपुरेश्वरमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत औपचारिक रूपमा आफ्नो सुरुआतको घोषणा गरेको छ ।
पेसएक्स स्पोट्र्सकी संस्थापक तथा अध्यक्ष संगीता कर्णका अनुसार विद्यालय, समुदाय र विभिन्न संस्थाका लागि दीर्घकालीन खेलाडी विकास र समग्र स्वास्थ्यमा केन्द्रित विश्वस्तरीय खेल तालिम प्रणाली स्थापना गर्नु कम्पनीको मुख्य लक्ष्य हो ।
आगामी पाँच वर्षभित्र देशभरका कम्तीमा एक सय विद्यालय तथा संस्थामा वैज्ञानिक र व्यवस्थित पेसएक्स मोडेल कार्यान्वयन गर्ने संस्थाले जनाएको छ ।
संस्थाका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) सौरभ सिंहले दुई वर्षको योजनापछि ६ महिनाअघि नेपालमा कम्पनी स्थापना गरिएको जानकारी दिए । उनले फुटबल, क्रिकेट र ईस्पोट्र्ससहित २१ वटा खेललाई लक्षित गर्दै व्यवस्थित तालिम अघि बढिरहेको बताए ।
झहामी लङ–टर्म एथ्लिट डेभलपमेन्ट (एलटिएडी ) मोडेल अपनाउँछौँ, जुन अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सबैभन्दा प्रभावकारी ढाँचा हो,’तालिम पद्धतिबारे स्पष्ट पार्दै सिंहले भने,झयसलाई प्रविधि, डाटा एनालिटिक्स र भविष्यकेन्द्रित दृष्टिकोण भएका प्रमाणित विज्ञहरूले समर्थन गर्छन् । हाम्रो कार्यक्रम ६ देखि २२ वर्ष उमेर समूहका खेलाडीका लागि तयार गरिएको छ ।’ उनका अनुसार कम्पनीले काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका करिब एक सय ५० विद्यालयसँग आफ्ना उद्देश्य र योजनाबारे छलफल गरिसकेको छ ।
पत्रकार सम्मेलनमा वितरण गरिएको एक प्रकाशनमा तेक्वान्दोका स्टार दीपक बिष्ट, राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द, तथा पूर्व भारतीय राष्ट्रिय बास्केटबल टोलीका कप्तान विशेश ब्रिघुवंशीलगायत विज्ञका रूपमा उल्लेख गरिएको छ ।
देशकै पहिलो र एकमात्र एन्ड टु एन्ड खेल व्यवस्थापन कम्पनी भएको दाबी गर्दै पेस एक्सस्पोट्र्सले संरचित र विस्तारयोग्य खेल तालिम प्रणाली निर्माण, अन्तर्राष्ट्रिय खेल पद्धतिको एकीकरण, स्वास्थ्य, फिटनेस तथा समग्र विकासको प्रवद्र्धन, विश्वस्तरीय खेल पूर्वाधार स्थापना तथा प्रशिक्षक, शिक्षक र खेल नेतृत्वको सशक्तीकरणलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ ।
सिँहले कम्पनीको आफ्नै खेल पूर्वाधार वा सुविधा नभएको स्पष्ट पारे । “प्रारम्भिक चरणमा हामी विज्ञ जनशक्ति उपलब्ध गराउनेछौँ र विद्यालय वा सामुदायिक संस्थाका विद्यमान संरचना प्रयोग गर्नेछौँ,’उनले भने ।








