संवादहीनता तोड्दै देउवा र महामन्त्रीद्वय, बालुवाटारमा निर्णायक वार्ता

काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद र ‘विशेष महाधिवेशन’ पक्षधरको दबाबका बीच सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच आज निर्णायक वार्ता हुँदैछ । पार्टीभित्रको बढ्दो दूरीलाई कम गर्दै निकास खोज्ने उद्देश्यका साथ सभापति देउवाले बुधबार बिहान महामन्त्रीद्वयलाई आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन् ।

पार्टीको आन्तरिक समीकरण बिग्रँदै जाँदा सोमबार प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितका नेताहरूले सभापति देउवालाई भेटेरै महामन्त्रीहरूसँग प्रत्यक्ष संवाद गर्न सुझाव दिएका थिए । सुरुमा सभापति देउवाले‘ुमहामन्त्रीहरू आफूसँग रुष्ट रहेको र बोलाउँदा नआउने हुन् कि’ भनी आशंका व्यक्त गरे पनि नेताहरूको आग्रहपछि संवादका लागि तयार भएका छन् । संस्थापन पक्ष केही लचक देखिएपछि महामन्त्रीहरू पनि छलफलका लागि सकारात्मक बनेका हुन् ।

पार्टीको संस्थापन पक्ष र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षबीच मंगलबार दिनभर भएको वार्ता बिना निष्कर्ष टुङ्गिएपछि सभापति आफैँ अग्रसर भएका छन् । विशेष महाधिवेशन पक्षले सभापति देउवाको राजीनामा वा आगामी आम निर्वाचनमा उम्मेदवार नबन्ने र राजनीतिक रूपमा सक्रिय नरहने घोषणा गर्नुपर्ने बटमलाइनअघि सारेका छन् ।

मंगलबारको वार्तामा विशेष महाधिवेशन पक्षका तर्फबाट प्रदीप पौडेल, देवराज चालिसे, मधु आचार्य र गुरुराज घिमिरे सहभागी थिए । संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँण तथा शेखर कोइराला समूहबाट बद्री पाण्डे, जीवन परियार र मिनेन्द्र रिजालले सहजीकरणको प्रयास गरेका थिए । तर, नेतृत्वको बहिर्गमनको मुद्दामा कुरा नमिलेपछि वार्ताले ठोस रूप लिन सकेको थिएन ।

शीर्ष नेतृत्वबीचको यही खिचातानीका कारण मंगलबारका लागि तय गरिएको केन्द्रीय कार्यसमितिको बैठक पटक-पटक सर्दै आज बिहानका लागि सारिएको छ । यता, भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षले पनि आफ्नो मनोनयनको समय थप गर्दै संवादको परिणाम पर्खिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =