सर्जकहरुले चन्द्रागिरीको चुचुरोबाट यसरी सम्झिए पृथ्वीनारायण

काठमाडौं । आज पृथ्वी जयन्ती तथा ३०४ औँ राष्ट्रिय एकता दिवस । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको योगदानलाई नेपालीहरूले आज गच्छेअनुसारका विविध स्वरूप र शैलीमा स्मरण गरिरहेका छन् । आजका दिन सांस्कृतिक लगायतका विविध कार्यक्रमको आयोजना गर्नुका साथै उनको शालिकमा पुष्पगुच्छा अर्पण एवं स्मृति दिवसका कार्यक्रमहरूको आयोजना गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।
यसै अवसरमा थर्डपोल ग्रुपद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा उनको स्मरण गरेका छन् । नेपाल एकीकरणको इतिहासमा पृथ्वीनारायणसँगै जोडिएको ऐतिहासिक डाँडा चन्द्रागिरि पुगेर त्यहाँस्थित पृथ्वीनारायणको शालिकसामु रचना वाचन गरी कविहरूले उनप्रति श्रद्धाभाव प्रकट गरेका हुन् ।
कार्यक्रममा इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्तले पृथ्वीनारायण शाह र ऐतिहासिक चन्द्रागिरि डाँडाको सम्बन्धबारे ऐतिहासिक तथ्यहरू प्रस्तुत गरेका थिए । यसैगरी कवि एवं गीतकार एस्पी कोइराला, दिनेश अधिकारी, डा. राजुबाबु श्रेष्ठ, कविहरू प्रद्युम्न जोशी, मणि लोहनी, प्रभाती किरण, नारायण निरासी, हेम प्रभास, एलिशा ढुंगाना, अनिता कोइराला, कृष्ण बञ्जाडे र दिनेश परियारले आफ्ना सिर्जनाहरूमार्फत नेपालको इतिहास र वर्तमानको व्याख्या गर्दै मुलुक निर्माणको महत्त्व र राष्ट्रिय एकतामा पृथ्वीनारायण शाहको योगदान र बलिदानको स्मरण गरे ।
उनका सिर्जनामा नेपालीहरूलाई नेपाली बनाएर विश्वभर चिनाउने युगपुरुष पृथ्वीनारायण शाहको हामी सबैले उच्च सम्मान गर्नुपर्ने भाव रहेको थियो । त्यस अवसरमा चन्द्रागिरि हिल्सका मानव संसाधन प्रमुख झलकराज शर्माले पृथ्वीनारायण शाहसँग प्रत्यक्ष जोडिएको चन्द्रागिरिमा उनको शालिक निर्माण गरेर इतिहासलाई जीवन्त राख्ने प्रयास गरिएको बताए । राष्ट्रिय एकता दिवसको अवसरमा प्रत्येक वर्ष चन्द्रागिरिमा रहेको पूर्णकदको प्रतिमा अगाडि कार्यक्रम हुँदै आएको छ ।








