पृथ्वी जयन्तीको निम्तो बोकेर रवि निवास पुगे लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बिहीबार बिहान भेटवार्ता गरेका छन् । सभापति लामिछानेको हात्तिगौंडास्थित निजी निवासमा पुगेर लिङ्देनले उनलाई भेटेका हुन् ।

भेटको मुख्य उद्देश्य आगामी पुस २७ गते मनाउन लागिएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको औपचारिक निमन्त्रणा दिनु रहेको बताइएको छ । राप्रपाले हरेक वर्ष पुस २७ गतेलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदै आएको छ । सोही अवसरमा आयोजना गरिएको चियापान तथा औपचारिक कार्यक्रमका लागि लिङ्देनले लामिछानेलाई निम्तो दिएका हुन् ।

भेटका क्रममा पृथ्वी जयन्तीको निम्तोका साथै राजनीतिक विषयमा पनि कुराकानी भएको छ । विशेषगरी आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनलाई लिएर दुई नेताबीच छलफल भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । निर्वाचनको तयारी र समसामयिक राजनीतिक अवस्थाका बारेमा उनीहरूबीच संवाद भएको जानकारी श्रेष्ठले दिए ।

अध्यक्ष लिङ्देनले राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने क्रमलाई तीव्र पारेका छन् । यसै सिलसिलामा उनले बुधबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनकै निवास गुन्डु पुगेर भेटेका थिए । ओलीलाई पनि लिङ्देनले पृथ्वी जयन्तीको निम्तो दिँदै चुनावी रणनीतिका बारेमा छलफल गरेका थिए । पुस २७ गते राप्रपाले भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =