शंखरापुर बस दुर्घटना अपडेट : मृतक ४ जनाको परिचय खुल्यो

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३, लप्सीफेदीस्थित जर्सिङपौवा-साँखु सडकखण्डमा बुधबार राति भएको सवारी दुर्घटनाले पिकनिकको रमाइलो क्षणलाई निमेषभरमै शोकमा परिणत गरिदिएको छ । रमाइलो गरेर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा पर्दा ४ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

बुधबार जर्सिङपौवाबाट पिकनिक मनाएर साँखुतर्फ फर्किने क्रममा महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका ३१ जनामध्ये २३ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ४ जना भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा कोहलपुर नगरपालिका-५, बाँकेकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथिभरा-५ की ५१ वर्षीया इन्दिरा लिम्बू, सिरहा स्थायी घर भएकी ५५ वर्षीया शान्ती गुप्ता र पाँचथरका ६५ वर्षीय देवेन्द्र लिम्बू रहेका छन् ।

शंखरापुर अस्पतालको विवरण
दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि नजिकैको शंखरापुर अस्पताल लगिएको थियो । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार, अस्पतालमा ल्याइएका ८ जनामध्ये कामना शर्माको अवस्था मृत थियो ।

अस्पतालमा उपचार गराएका दोलखाका केशव थामी, गोकर्णेश्वरका गोमा शिवभक्ति भुजेल र दुर्गाहरि पौडेल सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । महोत्तरीका ध्रुवप्रसाद रेग्मी, गोकर्णेश्वरकी सरस्वती गुरागाईं र बुढानीलकण्ठकी सरिता खत्री खड्कालाई सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र (उच्च अस्पताल) रिफर गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बुढानीलकण्ठ नगरपालिका कपनकी ४४ वर्षीया कृष्णकुमारी लिम्बूको अवस्था गम्भीर रहेकाले उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अस्पताल स्रोतले बताए ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताए । मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =