हनुमानघाटमा गुञ्जियो ‘माधव नारायण’को मन्त्र (तस्बिरहरू)

काठमाडौं । बिहानको सिरेटो, चिसो पानी अनि भक्तजनको तातो आस्था । भक्तपुरको हनुमानघाटमा देखिएको दृश्य हो यो । १२ महिनामा १२ रूप फेर्ने भगवान विष्णुले माघ महिनामा ‘माधव’को रूप धारण गर्ने विश्वासका साथ उपत्यकाको उत्तरपूर्वी भेगमा सुरु भएको एक महिने धार्मिक मेलामा विशेष चहलपहल छ ।

हिन्दु धर्मशास्त्र अनुसार माघ महिनामा भगवान विष्णुलाई ‘माधव’ नारायणको रूपमा पूजा गर्ने परम्परा छ । यही विश्वासका साथ बिहानैदेखि शालीनदी र हनुमानघाटमा स्नान गर्ने तथा पूजाअर्चना गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ । विशेषगरी पाप पखालिने र पुण्य प्राप्त हुने जनविश्वासका कारण भक्तजनहरू चिसोको पर्वाह नगरी माघस्नानमा जुटेका हुन् ।

माधव नारायणको व्रतलाई धार्मिक रूपमा निकै कठोर मानिन्छ । यस व्रतमा महिला मात्र नभई पुरुषहरू पनि सक्रिय रूपमा सहभागी हुने परम्परा छ । विशेषतः पुरुष व्रतालुहरूले जमिनमा पल्टिँदै (धस्रिएर) मन्दिर परिक्रमा गर्ने र धार्मिक यात्रा पूरा गर्ने दृश्यले यहाँको माहोललाई थप भक्तिमय बनाएको छ ।

मेला व्यवस्थापन समितिका अनुसार, व्रतालुहरूले परदेश यात्रा अन्तर्गत काठमाडौंको साँखुदेखि भक्तपुरको चाँगुनारायण मन्दिरसम्मको पैदल यात्रा तय गर्नेछन् । माघ कृष्ण त्रयोदशीबाट सुरु हुने यो ‘परदेश यात्रा’ माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण पुगेर विशेष पूजा गरी भोलिपल्ट पुनः साँखु फर्किएपछि पूर्ण हुने धार्मिक विधि रहेको छ ।

  • भक्तपुरको हनुमानघाटमा लिइएका तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =