देउवा पक्षका ३० केन्द्रीय सदस्यले भेटे डा.शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरूले नेता डा. शेखर कोइरालासँग आज बिहान लामो छलफल गरेका छन् ।

बिहान ८ बजेबाट सुरु भएको छलफल साढे दुई घण्टा चलेको थियो । छलफलमा केन्द्रीय सदस्यहरू चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशी लगायत सहभागी थिए ।

भेटमा उनीहरूले पार्टीभित्र देखिएको विवाद समाधानका लागि कोइरालालाई अग्रसरता लिन आग्रह गरेका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस १८ गतेको बैठकले बहुमतका आधारमा १५ औँ महाधिवेशन वैशाखमा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताले फरक मत राखेका थिए । सोही निर्णयलाई लिएर पार्टीभित्र चर्को विवाद उत्पन्न भएको छ ।

नेता कोइरालाले बहुमतको निर्णय मान्न आफू बाध्य भएको बताउँदै आएका छन् तर फरक मत राखेका छैनन् । विशेष महाधिवेशनको पक्षमा पनि उनी खुलेर लागेका छैनन् ।

उनले माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुने बताए । उनले सो अवधिमा राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको मनोनयनका सबै प्रक्रिया सकिने भएकाले त्यसपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताए ।

कोइरालाले सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसका लागि लागिपरेको समेत बताए ।

उनले केन्द्रीय कार्यसमितिले सर्वसम्मत रूपमा निर्णय गरेमा विशेष महाधिवेशन हुन सक्ने धारणा राख्दै आएका छन् । ‘हामीले नेता कोइरालासँग पार्टीभित्रका विवाद समाधानका विभिन्न मोडालिटीमा कुराकानी ग¥यौं । विवाद न्यूनीकरण गरेर अघि बढ्ने विषयमा उहाँ सकारात्मक देखिनुभयो’ एक नेताले मकालुखबरसँग भने ।

भेटमा नेता कोइरालाले राष्ट्रिय सभामा गठबन्धन गर्न लागे पनि प्रतिनिधिसभामा कसैसँग पनि गठबन्धन नहुने स्पष्ट पारेका थिए ।

गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई चार सिट बढी आए पनि समानुपातिक मत घट्ने र कांग्रेसलाई दीर्घकालीन हानी हुने बताए । आगामी निर्वाचनमा नेपाली कांग्रेसले एक्लै चुनावमा जानु पर्ने कुरामा आफू स्पष्ट भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =