सामाजिक सद्भाव र मर्यादामा आँच पुर्‍याउने गतिविधि नगर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले सामाजिक सञ्जालमार्फत द्वेषपूर्ण एवं भ्रामक अभिव्यक्ति सार्वजनिक गरी सामाजिक सद्भाव र मर्यादामा आँच पु¥याउने गतिविधि नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याउने किसिमका घटना नगर्न सचेत गराएको हो ।

सामाजिक सञ्जालको दुरुपयोग गरी निश्चित समुदाय एवं धर्मलक्षित अवैधानिक गतिविधि गर्ने, आपसी सामाजिक सद्भावमा खलल पुर्‍याउने , अमर्यादित व्यवहार प्रदर्शन गर्ने, धार्मिकस्थलमा तोडफोड, आगजनी, लुटपाट जस्ता हिंसात्मक एवं सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढेको मन्त्रालयले स्पष्ट पारेको छ ।

“विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवं सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेजस्ता घृणाजन्य अभिव्यक्ति दिनु दण्डनीय अपराध हो”, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले जोकोही व्यक्ति तथा समूहले जहाँसुकै रहेर कानूनद्वारा वर्जित र दण्डनीय गतिविधि गरे गराए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ ।

मन्त्रालयले शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता कायम गर्न आवश्यक संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − three =