गत भदौको जेनजी प्रदर्शनमा सुरक्षाकर्मीको घातक बल प्रयोगबारे SAHR ले उठायो गम्भीर प्रश्न

काठमाडौँ । दक्षिण एसियाली मानवअधिकार सञ्जाल “साउथ एसियन्स फर ह्युमन राइट्स“ (SAHR) ले सेप्टेम्बर २०२५ मा नेपालमा भएको जेनजी प्रदर्शनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।
SAHR ले आज सोमबार बिजुलीबजारमा अवस्थित अल्फाबिटा कम्प्लेक्समा एक कार्यक्रम बीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै, जेनजी प्रदर्शनको क्रममा राज्यको जबाफदेहिता कमजोर रहेको र यसले लोकतान्त्रिक वैधतामाथि गम्भीर जोखिम सिर्जना गरेको जनाएको हो ।
अक्टोबर २०२५ मा गरिएको अध्ययनका आधारमा तयार प्रतिवेदन अनुसार ती प्रदर्शनमा ७० भन्दा बढीको मृत्यु, सयौँ घाइते र सार्वजनिक संस्थामा ठूलो क्षति पुगेको छ ।

सुरुमा शान्तिपूर्ण र युवाको नेतृत्वमा भएको आन्दोलन भ्रष्टाचार, राजनीतिक बहिष्करण र असफल शासकीय अभ्यासप्रतिको गहिरो असन्तोषका कारण चर्किएको SAHR को निष्कर्ष छ ।
प्रतिवेदनले शान्तिपूर्ण प्रदर्शनमा आपराधिक तथा अवसरवादी राजनीतिक तत्त्व घुसेर आगजनी र तोडफोड गराएको आरोप पनि लगाएको छ ।
राज्यको प्रतिक्रियामाथि गम्भीर प्रश्न उठाउँदै SAHR ले ८ सेप्टेम्बर २०२५ मा सुरक्षाकर्मीले निहत्था प्रदर्शनकारीमाथि जिउँदो गोली चलाएको आरोप उल्लेख गरेको छ। त्यसपछि अदालत, कारागार र सरकारी कार्यालयमाथि आक्रमण हुँदा कैदी फरार भएको र महत्त्वपूर्ण अभिलेख नष्ट भएको प्रतिवेदनमा जनाइएको छ ।

SAHR ले हालको न्यायिक जाँच आयोगको विश्वसनीयता, सेनामाथि बढ्दो निर्भरता र मार्च २०२६ का लागि तय निर्वाचनमा देखिएको अन्योलप्रति चिन्ता समेत व्यक्त गरेका छन् ।
समयमै विश्वसनीय निर्वाचन, घटनाको निष्पक्ष छानबिन, भिड नियन्त्रण सुधार र पत्रकार तथा मानवअधिकारकर्मीको सुरक्षा सुनिश्चित गर्न SAHR ले सरकारलाई आग्रह गरेका छन् ।









