अमेरिकी महान्यायाधिवक्ताको दाबीः निकोलस मादुरोले छिट्टै अमेरिकी अदालतमा मुद्दाको सामना गर्नेछन्

काठमाडौं । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ परेपछि चाँडै अमेरिकी अदालतहरूमा मुद्दाको सामना गर्ने बताएकी छन् । तेल धनी दक्षिण अमेरिकी राष्ट्रबाट उनलाई पक्राउ गरी बाहिर लगिएपछि बोन्डीको यो भनाइ सार्वजनिक भएको हो ।
बोन्डीले सामाजिक सञ्जालमा निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस विरुद्ध न्युयोर्कको दक्षिणी जिल्ला अदालतमा अभियोग दर्ता गरिएको बताइन् । मादुरोमाथि लागु औषध–आतंकवाद षड्यन्त्र, कोकिन आयात गर्ने षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको, तथा संयुक्त राज्य अमेरिका विरुद्ध ती हतियार प्रयोग गर्ने षड्यन्त्र गरेको जस्ता गम्भीर आरोपहरू लगाइएको जानकारी दिइन् ।
अमेरिकी रिपब्लिकन सिनेटर माइक लीले जानकारी दिएअनुसार विदेशमन्त्री मार्को रुबियोले उनलाई फोन गरेर मादुरो पक्राउ परेको र उनमाथि अमेरिकामा फौजदारी अभियोगमा मुद्दा चलाइने बताएका थिए । उनका अनुसार यो कारबाही अमेरिकी कर्मचारीहरूलाई वास्तविक वा आसन्न आक्रमणबाट जोगाउन संविधानको धारा २ अन्तर्गत राष्ट्रपतिको अन्तर्निहित अधिकार क्षेत्रभित्र पर्दछ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी सेनाको ठूलो स्तरको आक्रमणका बीच मादुरो र उनकी पत्नीलाई कब्जामा लिएर देशबाहिर लगिएको घोषणा गरेका थिए ।
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले सरकारी टेलिभिजनमार्फत मादुरो र उनकी पत्नीको अवस्था अज्ञात रहेको बताउँदै ट्रम्पसँग उनीहरू जीवितै रहेको प्रमाण माग गरेकी छन् । लामो समयदेखि अमेरिकाले क्यारिबियन क्षेत्र र भेनेजुएलाको समुद्री तटमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको थियो । अमेरिकाले यसलाई लागु औषध तस्करी विरुद्धको अभियान बताए पनि भेनेजुएलाले भने यसलाई राजधानी काराकासमा सत्ता परिवर्तन गर्ने षड्यन्त्रको रूपमा निन्दा गर्दै आएको छ ।










