भद्रपुरमा रन-वेबाट चिप्लिएको जहाज प्रकरण

बुद्ध एयरद्वारा छानबिनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । शुक्रबार राति भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन-वेबाट चिप्लिएर दुर्घटनामा परेको उडान संख्या ९०१ को विषयमा बुद्ध एयरले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। एयरलाइन्सले शनिबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र विस्तृत छानबिनमा नियामक निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंबाट ५१ जना यात्रु लिएर भद्रपुर उडेको बुद्ध एयरको एटीआर-७२ जहाज शुक्रबार राति ९ः१० बजे अवतरणका क्रममा रन-वेको पूर्वतर्फ करिब ३०० मिटर ‘ओभर रन’ भई घाँसे मैदानमा भासिएको थियो ।

घटना लगत्तै उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने सुरक्षा निकायप्रति आभार व्यक्त गर्दै बुद्ध एयरले भनेको छ, ‘उक्त समयमा उद्धार कार्यमा तदारुकताका साथ खटिनुहुने नेपाल प्रहरी, नेपाली सेना, नागरिक उड्डयन प्राधिकरण तथा बुद्ध एयरका कर्मचारीहरूमा हामी आभार व्यक्त गर्दछौँ ।’ कम्पनीले घटनाको सत्यतथ्य पत्ता लगाउन र विस्तृत छानबिनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट पारेको हो ।

को-पाइलटको उपचार जारी, यात्रुहरू घर फर्किए
दुर्घटनामा परी सामान्य घाइते भएका यात्रुहरू उपचारपछि घर फर्किसकेको बुद्ध एयरले पुष्टि गरेको छ । जहाजमा सवार ५१ जना यात्रुमध्ये ६ जनालाई सामान्य चोटपटक लागेको थियो । उनीहरूलाई भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जहाजका को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । जहाजमा ४ जना चालक दलका सदस्य र एक इन्जिनियरसहित कुल ५६ जना सवार थिए । जहाज रन-वे बाहिर गए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुको नेतृत्वमा ७० जनाको प्रहरी टोली र अन्य सुरक्षा निकायले यात्रुहरूको सकुशल उद्धार गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =