आसिफ शाहले लिए समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौं । कलाकार तथा सञ्चारकर्मी आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै शाहले पार्टी र जनभावनाको कदर गर्दै आफू ‘ब्याक’ भएको र अब प्रत्यक्ष निर्वाचनमा होमिने स्पष्ट पारेका हुन् ।

‘जनताको मन दुखाएर र साथीहरूको भावनामा चोट पुर्‍याएर चोर बाटोबाट सांसद बन्ने रहर छैन,’ भन्ने सन्देश दिँदै उनले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष उम्मेदवारी दिने निधो गरेका छन् ।

राजनीतिमा सक्रिय नहुने तर देश बनाउने हुटहुटी भएको बताउने शाहले बालेन, रवि र कुलमानको प्रयासलाई नजिकबाट नियालेपछि राजनीतिमा होमिएको बताएका छन् । सुरुमा पार्टीका शुभेच्छुकहरूको सल्लाह र देशव्यापी चुनावी अभियानलाई सघाउनुपर्ने आवश्यकताका कारण समानुपातिक सूचीमा बस्न राजी भएको उनले स्वीकारेका छन् ।

तर, उम्मेदवारी दर्तापछि आएका सार्वजनिक प्रतिक्रिया, सञ्चारमाध्यमका समाचार र पार्टी पङ्क्तिको असन्तुष्टिले आफूलाई गम्भीर आत्ममन्थन गर्न बाध्य बनाएको उनको भनाइ छ । ‘सही नियत हुँदाहुँदै पनि कतै न कतै गल्ती हुन पुगेछ भन्ने अनुभूति भयो,’ शाहले आफ्नो गल्ती स्वीकार्दै लेखेका छन्, ‘जनता र पार्टीका साथीहरूको भावना विपरित समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ ।’

काठमाडौं-५ मा उत्रिने तयारी
समानुपातिक उम्मेदवारी फिर्तासँगै शाहले आफ्नो राजनीतिक बाटो अब जनताको प्रत्यक्ष अभिमततर्फ मोडेका छन् । ‘प्रत्यक्ष निर्वाचनमा उठ्ने निर्णय स्पष्ट छ- उठ्ने नै हो,’ उनले भनेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन आफू पूर्ण रूपमा तयार रहेको र ‘देशभन्दा ठूलो केही नहुने’ भन्दै उनले चुनावी मैदानमा उत्रिने संकेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =