नेपालमा ‘प्रतिशोधी राजनीति’ले जरा गाड्यो : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली राजनीतिमा प्रतिशोध र बदलाको भावनाले प्रवेश पाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
सत्ता केन्द्रित राजनीतिका कारण दलहरूले आफ्नो सैद्धान्तिक धरातल गुमाउँदै गएको र त्यसको परिणामस्वरुप मुलुकमा ‘पाकिस्तानी र बंगलादेशी मोडेल’ को राजनीतिक अभ्यास देखिन थालेको उनको विश्लेषण छ । शुक्रबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले लेखेका छन्, ‘लामो समयदेखि पाकिस्तानमा चल्दै आएको र पछिल्लो समय बंगलादेशमा देखिएको प्रतिशोधी राजनीतिले अब नेपालमा पनि ‘टुसा’ हाल्न थालेको स्पष्ट सङ्केतहरू देखिन थालेका छन् ।’
राजनीति केवल सत्ताप्राप्तिको भर्याङ मात्र बन्दा सिद्धान्त ओझेलमा परेको उनको ठम्याइ छ । बास्कोटाले वर्तमान राजनीतिक प्रवृत्तिले घृणाको सीमा नाघेर मुलुकलाई हिंसात्मक बाटोतर्फ धकेल्न सक्ने भन्दै सचेत समेत गराएका छन् ।









