बाबु सुदन, तपाईँले निर्वाह गरेको भूमिका १०० वर्षसम्म देशले बिर्सँदैन : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले देशका तीन चर्चित अनुहारलाई एकै ठाउँमा उभ्याउन समन्वयकारी भूमिका खेल्ने युवा अभियानकर्मी (जेनजी अगुवा) सुधन गुरुङप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
मेयर शाहले आफू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको एकता प्रयासमा गुरुङले खेलेको भूमिका ऐतिहासिक भएको टिप्पणी गरेका हुन् । सोमबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले गुरुङको यो प्रयासलाई देशले शताब्दीसम्म सम्झिरहने बताएका छन् ।
पछिल्लो दुई दिनमा विकसित नाटकीय राजनीतिक घटनाक्रमको पर्दा पछाडि गुरुङको सक्रियता देखिएको छ । आइतबार बिहान मात्रै मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच एकताको सहमति भएको थियो । लगत्तै सोमबार सभापति लामिछाने र कुलमान घिसिङबीच पनि सहकार्यको समझदारी जुटेको छ । यी तीनै शक्तिलाई एकताबद्ध बनाउन गुरुङले ‘की-फ्याक्टर’को काम गरेको बालेनको भनाइ छ ।
सुधन गुरुङको प्रशंसा गर्दै बालेनले फेसबुकमा लेखेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? त्यो नै महत्त्वपूर्ण हुन्छ । बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन । लभ यु, ब्रदर ।’









