रास्वपाले गर्‍यो ‘बालेन’लाई भावी प्रधानमन्त्री स्वीकार, ७ बुँदे सहमति अनुमोदन

काठमाडौं । मुलुकको वैकल्पिक राजनीतिमा नयाँ तरंग ल्याउने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमतिले औपचारिक मान्यता पाएको छ । आइतबार बिहान दुई पक्षबीच हस्ताक्षर भएको सातबुँदे सहमतिलाई रास्वपाको केन्द्रीय समितिले आइतबार साँझ नै सर्वसम्मतिले अनुमोदन गरेको हो ।

रास्वपा सभापति रवि लामिछानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिलाई ‘राष्ट्र हितका लागि गरिएको बृहत् आँट’ को संज्ञा दिँदै स्वामित्व ग्रहण गरेको छ । यो निर्णयसँगै आगामी निर्वाचनमा मेयर बालेन शाह रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएर मैदानमा उत्रिने पक्का भएको छ । सहमतिअनुसार निर्वाचनपछि बन्ने संसद्मा बालेनलाई पार्टीले संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ भने पार्टीको सांगठनिक नेतृत्व सभापति लामिछानेले नै सम्हाल्नेछन् ।

रास्वपाले जारी गरेको आधिकारिक धारणामा भनिएको छ, ‘यो सहमति केवल दुई पक्षको मिलन मात्र होइन, बरु मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार र कुशासनको जालो चिर्दै सुशासनको नयाँ युग आरम्भ गर्ने प्रस्थानबिन्दु हो ।’

पार्टीले यस एकतालाई त्याग र आशाको प्रतिबिम्बका रूपमा व्याख्या गर्दै लोकतन्त्र, समुन्नति र सामाजिक न्याय स्थापनाको दिशामा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =