एनभिए भलिबलमा सातौँपल्ट च्याम्पियन हेल्प नेपालको उत्कृष्ट सुरुवात

काठमाडौँ । तीन पाकिस्तान खेलाडीको साथ पाएको हेल्प नेपाल स्पोटर्स क्लबले नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद् सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा पुरुषतर्फ हेल्प नेपालले उद्घाटन खेलमा विभागीय टोली एपिएफ क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सुखद् सुरुवात गरेको हो ।
शुक्रवारदेखि सुरु भएको च्याम्पियनसिपमा समूह ‘ए’ को हेल्प नेपाल विभागीय टोलीमाथि पूर्ण हाबी भयो । साथै टोली सम्मिलित समूहमा जितसँगै क्वार्टरफाइनलमा सम्भावना बलियो बनाएको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको हेल्प नेपाल स्पोटर्स क्लब ९ संस्करणमध्ये सातौँ पल्टको च्याम्पियन हो ।
हेल्प नेपाल २०७३ साल ९तेस्रो संस्करण० मा पहिलोपल्ट च्याम्पियन भएको थियो । त्यसयता नेपालको घरेलु प्रतियोगितामा हेल्प नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
अनुभवी तीन पाकिस्तानी खेलाडीको साथ पाएको यस संस्करणमा पनि हेल्प नेपालले उत्कृष्ट सुरुआत गरेको छ । युवा खेलाडीले भरिएको एपिएफले चुनौती दिने प्रयास गरे पनि सफल भएन । एपिएफ पहिलो सेटमा २५–२१ ले पछि पर्यो । त्यस पछिको दुई सेटमा पनि एपिएफ पुनरागमन गर्न असफल भयो । हेल्प नेपालले दोस्रो र तेस्रो सेट क्रमशः २५–२० र २५–२० को सेटमा आफ्नो बनायो ।
अब हेल्प नेपालले समूहको दोस्रो खेल मणिमुकुन्द क्लबसँग आगामी सोमबार खेल्नेछ । पुरुषतर्फ कुल १२ टोली छन् र जसलाई चार समूहमा विभाजन गरिएको छ । शुक्रवार नै पुरुषतर्फ भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले ढोरपाटन क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो ।
समूह ‘बी’ को खेलमा पुलिसले पहिलो दुई सेट २५–२० र २५–१४ ले सहजै आफ्नो पक्षमा पार्यो । तर तेस्रो सेट भने लामो समयसम्म चल्यो । यो सेटमा ढोरपाटनले ३५–३३ ले आफ्नो बनाउँदै सेटमा फर्कने संकेत गर्यो ।
तथापि, पुलिसले चौथो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा राख्दै ढोरपाटनको लक्ष्य पूरा हुन दिएन । महिलातर्फ पनि विभागीय टोलीले सुखद् सुरुवात गरेका छन् । समूह ‘ए’ को त्रिभूवन आर्मी क्लवले एभरेस्ट भलिबल क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीकी महत्वपूर्ण खेलाडी सफिया पुन बिहीवार मात्र अस्ट्रेलिया प्रस्थान गरेकी थिइन् । तर आर्मीले त्यसको क्षति व्यहोर्नु परेन । पहिलो खेलमा सहजै जित निकाल्यो ।
आर्मीले २५–१६, २५–१४ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको हो । महिलामा कुल ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा जित निकाल्दै आर्मीले समूहचरण पार गर्ने संकेत गरेको छ । यो समूहमा चुली युवा क्लब र न्यु डायमण्ड युथ स्पोटर्स क्लब छन् ।
शनिवार यी दुई टोली नै प्रतिस्पर्धा गर्दैछन् । यसै प्रतियोगिताबाट झन्डै साढे दुई वर्षपछि प्रतिभा मालीले खेल्दैछिन् । महिलामा नै नेपाल पुलिसले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गरेको हो । पुलिसले २५–१०, २५–६ र २५–११ ले आफ्नो पक्षमा पार्न सफल भयो । यो समूहमा एपिएफ र मधेस प्रदेश स्पोटर्स काउन्सिल छन् ।








